हर्षोल्लासका साथ यसरी मनाइयो नेपाल संवत् ११४५ (भिडियोसहित)

काठमाडौं, १७ कात्तिक । विश्वमा प्रचलित विभिन्न संवतहरु मध्ये आफ्नै देशको नामबाट सुरु भएको नेपाल संवत् आज मुख्य गरेर राजधानी र आसपासका सहरमा हर्षोउल्लासका साथ मनाइएको छ । नेपाल संवत् ११४५ । मुख्य गरेर काठमाडौंको बसन्तपुर डबलीमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४५ ले यो कार्यक्रम धुमधामसँग मनाएको छ ।

बसन्तपुर डवलीमा कार्यक्रम सुरु हुनु अघि विभिन्न झाँकीसहित बसन्तपुरको तल्लो र माथिल्लो भेगमा र्यालीको आयोजना गरिएको थियो । विहानको झुल्केघामसँगै बसन्तपुर डबलीमा नेवारी भेषभुषामा सजिएर आ(आफ्नै परम्परा अनुसार बाजागाजासहित विभिन्न ठाउँबाट र्याली आउँदा त्यहाँको दृष्य मोहक बनेको थियो । र्यालीमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोललगायत पनि सहभागी हुनुभएको थियो । र्यालीपछि जुद्दशालिक नजिकै औपचारिक कार्यक्रमको आयोजना भएको थियो ।
अहिले यसरी प्रधानमन्त्रीकै उपस्थितिमा कार्यक्रम गर्ने परम्परा बनेको छ । ०४६ साल अघि अर्थात् बहुदलीय प्रजातन्त्र स्थापना हुनु अघिसम्म नेपाल संवत् नयाँ वर्षको कार्यक्रममा राज्यका तर्फबाट प्रतिनिधित्व हुने चलन थिएन । तर, २०४७ सालमा बसन्तपुरमा भएको भिन्तुना सभामा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रमुख अतिथिका रूपमा उपस्थिति जनाएसँगै त्यसपछिका हरेक कार्यक्रमहरूमा बहालवाला प्रधानमन्त्री नै प्रमुख अतिथिका रूपमा उपस्थित हुने परम्परा शुरु हुन थाल्यो जो अहिलेसम्म पनि जारी नै छ ।

२०६२र६३ को आन्दोलनपछि जब देशमा गणतन्त्र स्थापना भयो, त्यसपछि भने बहालवाला राष्ट्रपतिले पनि भिन्तुना कार्यक्रमलाई शुभकामना व्यक्त गर्ने चलन शुरु भयो ।
यसरी नेपाल संवत् नयाँ वर्षको भिन्तुना कार्यक्रम एक सांस्कृतिक गतिविधि मात्र भए पनि यसको राजनीतिक योगदानको इतिहास पनि कम अविस्मरणीय छैन ।

नेपाल संवत्कका त्कका प्रवर्तक शंखधर साख्वाःले आज भन्दा ११४५ वर्ष अघि जनताको ऋण मोचन गरी स्थापना गरेको यो संवत् विश्वमै देशको नाममा स्थापना गरिएको एक मात्र संवत्का रुपमा लिइन्छ । मुख्यगरेर काठमाडौँ, भक्तपुर, ललितपुर, थिमी, किर्तीपुर, बुंगमती, बौद्धलगायतका स्थानमा धुमधामका साथ नयाँं वर्ष मनाउने चलन छ ।

आजभन्दा ३५ वर्ष अघिसम्म नेपाल संवत् नयाँ वर्ष मनाउने शैली भने यस्तो थिएन । नेपाल संवत्को नयाँ वर्षलाई उत्सव होइन आन्दोलनको रूपमा मनाउने चलन त्यतिबेला थियो । देशमा निरंकुश पञ्चायती शासन थियो । पञ्चायती शासनले देशमा ‘एक भाषा, एक भेष’ नीति लागू गरी अरु सबै जाति, भाषा, धर्मलाई अँठ्याएको समय थियो ।
अहिले स्वतन्त्र वातावरणमा यसरी खुशीका साथ नयाँ वर्ष मनाउन पाउँदाको खुशी त्यहाँ उपस्थितको मुहार र उत्साहमा प्रस्टै देखिन्थ्यो ।

राज्यको त्यो निरंकुश नीतिका विरुद्ध बोल्ने कसैको आँट त्यतिबेला थिएन । त्यस्तो बेला नेपालभाषा मंकाः खलः नामक एक संस्थाको आयोजनामा सञ्चालन गरिने नयाँ वर्षको भिन्तुना कार्यक्रम विस्तारै पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन पनि बन्दै जान थालेको थियो । पहिला–पहिला नेपाल संवतको नयाँ वर्ष कार्यक्रम कुनै स्कुलको बन्द कोठामा मात्रै मनाइने गरिन्थ्यो । नेपाल संवत् ११०० अर्थात आजभन्दा ४४ वर्षअघि मंकाः खलःले पहिलोपटक सार्वजनिक ¥याली सहित भिन्तुना कार्यक्रम आयोजना गर्न थालेको थियो । तत्कालीन सरकारले यसको लागि कुनै अनुमति दिएको थिएन । त्यसैले नयाँ वर्षको भिन्तुना कार्यक्रम आयोजना गर्दा हरेक वर्ष प्रशासनको हस्तक्षेप हुने गर्दथ्यो । आयोजकहरू पक्राउ पर्दथे ।

मंकाः खलःका तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधर भिन्तुना कार्यक्रम आयोजना गरेकै कारण थुप्रै पटक प्रहरी हिरासतमा पर्नुभएको इतिहास छ । जनकवि दुर्गालाल श्रेष्ठ, अगुवा मल्ल के। सुन्दरहरुले पनि धेरै पटक प्रशासनको धम्की खेप्नुपरेको थियो ।

पञ्चायती व्यवस्थाले आफूलाई राष्ट्रवादी दावी गरे पनि नेपाल देशकै नाममा स्थापित नेपाल संवतलाई भने वेवास्ता गरेकाले यो राष्ट्रवादी व्यवस्था होइन भनेर आरोप लगाइन्थ्यो । राज्यले नेपाल संवत् मात्र होइन नेपालमा विद्यमान विभिन्न जातीय समुदायको भाषा, धर्म, संस्कृतिलाई मास्न खोजेका कारण यो फासीवादी व्यवस्था हो भनी प्रचार गरिन्थ्यो ।
यसरी पञ्चायती व्यवस्थाका विरुद्ध जनतामा जागरण सञ्चार गर्न नेपाल संवत्को भिन्तुना कार्यक्रम एउटा सांस्कृतिक आन्दोलनका रूपमा उपयोग हुँदै जान थालेको थियो ।
पञ्चायती व्यवस्थाको दमन चर्कंदै जान थालेपछि भिन्तुना ¥यालीमा पञ्चायती व्यवस्था मरिजाओस् भनेर समेत नारा लगाइएको थियो ।

यही भिन्तुनाको सांस्कृतिक ¥याली हो जहाँ पञ्चायती व्यवस्थाको अन्त नहुन्जेल देशका सबै जाति, भाषा र धर्मले समान अधिकार उपभोग गर्न सक्ने छैन भन्दै जनतालाई जागरुक बनाउने कार्य हुने गर्दथ्यो ।
तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक रूपले प्रहार गर्ने काम भूमिगत दलहरूले गरिरहेको थियो भने गैर राजनीतिक मोर्चाबाट पञ्चायतलाई प्रहार गर्ने अघोषित फोरम यही भिन्तुना कार्यक्रम थियो । अहिले नेपाल संवतलाई राज्यले राष्ट्रिय संवतको मान्यता दिएको छ भने खुलारुपमा यो कार्यक्रम बनाउँदा यसको गरिमा पनि थप उचो भएको छ ।