छठका लागि चिरिच्याट बन्दै काठमाडौंका खोला, तलाउ र पोखरीहरु (भिडियो रिपोर्ट)

काठमाडौं, २१ कात्तिक । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने अनि सबै जीवप्रति सहानुभूति राख्ने प्रेरणाको पर्वका रुपमा छठ मनाउने चलन छ । कात्तिक शुक्ल पक्षमा चार दिनसम्म मनाइने यो पर्व मुख्य गरेर नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाउने चलन थियो । तर, अहिले विस्तारै यो पर्व देशभरीकै अधिकांश ठाउँहरुमा विशेषत महत्वका साथ मनाउने चलन सुरु भएको छ ।

छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरू आवश्यक पर्छन् । सूर्यको अनुष्ठान गरेर मनाउने यो पर्व तिहार लगत्तै आउने भएकाले पनि तिहार सकिएपछि खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयहरुमा चिटिक्क पारेर छठ पर्वको अन्तिम तयारी भइरहेको छ ।

प्छिल्लो समय काठमाडौं उपत्यकामा पनि यो पर्वलाई निकै महत्वका साथ मनाउने चलन छ । छठ पर्वसँगै काठमाडौंका खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयहरु अहिले सजजाएर चिटिक्क पारिएको छ ।

चार दिनसम्म मनाउने छठको पहिलो दिन व्रतालुहरूले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर लसुन र प्याज नहालेको चोखो शाकाहारी खाना खाने चलन छ भने व्रतालुहरूले दतिउनले मुख धुने, हात खुट्टाको नङ काट्ने र शुद्ध भोजन ग्रहण गर्ने चलन छ । अहिले काठमाडौंको कमलपोखरी, पशुपतीको गौरीघाट, कोटेश्वर दोभान, वंशीघाट, बालाजु २२ धारालगायतका ठाउँहरुमा छठको धुमधाम तयारी भैरहेको छ ।

छठको दोस्रो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बसेर साँझपख नुहाएर चोखो भईचन्द्रोदयपछि चन्द्रमालाई चढाएर पूजापाठ गरी व्रतालुहरूले प्रसादको रुपमा ग्रहण गर्ने चलन छ ।

छठको तेस्रो दिन व्रतालु महिलाहरूले नदी, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठ घाटमा पुगेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने चलन छ भने चौथो अर्थात सप्तमी थितिका दिन झिसमिसेमै व्रतालुहरूले नुहाइ धुवाइ गरी पूजा सामग्री र प्रसाद लिएर सूर्य नउँदाउँदै छठ घाटमा पुगी उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि यो पर्व सकिन्छ ।

छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।