काठमाडौंलाई मधेशसँग जोडिरहेको छठ पर्व

काठमाडौं ।  हातबा मे फूलवा के डलिया, छठ पूजन जाय ।। छठी मैया होइब सहाय, छठ पूजन जाय ।।

माथिको गीतले भन्छ :  हातमा फूलको डालो लिएर छठी मैयाको पूजाका लागि गइरहेका छौं, छठी माता हामी माथि बिशेष कृपा बनाइराख्नु होला। आज काठमाडौं उपत्यकाका जलाशयहरुमा यस्तै गीतहरु बजिरहेका छन्। छठी मातालाई पुकार्दै भक्तजनहरु छठको उल्लासमा छन्।

पहिला पहिला दसैंको तिहारको रमझम सकिए पछि मनाइने छठ पर्वको त्यति चर्चा हुँदैन थियो। विशेषगरी मधेशमा मनाइने यो पर्व पहाडमा फैलिसकेको थिएन। करिब एक दशकसम्म पनि काठमाडौंमा यो पर्वको त्यति व्यापकता थिएन। पछिल्लो समय भने तिहार लगत्तैको यो पर्वले काठमाडौंमा विशेष स्थान बनाउन थालेको छ।

छठ विशेष गरि तराई भेगमा मनाइने पर्व भए पछि पछिल्ला वर्षहरुमा यसले पहाडी भेगमा पनि राम्रो स्थान बनाउँदै गएको छ। पहिला तिहार लगत्तै झिलिमिलि बत्ती निकालिन्थ्यो भने अहिले छठसम्म बत्ती बालौं भन्ने भावहरु स्थापित भइरहेको छ। जसकारण तिहार पछि पनि काठमाडौंका कतिपय स्थान झिलिमिलि छन्।

अहिले विशेषगरि उपत्यकामा रहेका जलाशयहरुलाई विशेष रुपले सजाइएको छ। हाल काठमाडौं उपत्यकाको गुहेश्वरी, कमलपोखरी, बाग्मती, विष्णुमति, गहनापोखरी, बाइसधारा, कुपण्डोल, भक्तपुरको कमलपोखरी लगायतका क्षेत्रमा छठ पर्व धुमधामले मनाइन्छ। तिहार सकिए लगतै यी स्थानमा साजसज्जाको काम सुरु हुन्छ।

छठ सूर्य उपासनाको पर्व हो। डा रामदयाल राकेशले मैथिल संस्कृति कृतिमा छठलाई लोकचाडका रुपमा व्याख्या गरेका छन्। उनले तराईको संस्कृतिमा सर्वश्रेष्ठ देउवताका रुपमा सूर्यलाई पूजा गर्ने गरेको उल्लेख गरेका छन्। दुई दिनसम्म उपवास गरेर उदाउँदो सूर्य र अस्ताउँदो सूर्यलाई नै आराधना गरेर यो पर्व मनाइन्छ।

राकेशका अनुसार दसैं तिहार लगत्तै आउने भएकोले मैथिल समाजमा एउटा लोकोक्ति चलनचल्तीमा छ।

‘दसैं के सोरह दिन बाद शुकराति, शुकराति के छ दिन बाद छठ।’ समाजमा चलनचल्तीमारहेको यी भावले मधेशमा छठको महत्वलाई स्पष्ट पार्छ।

विश्वभर उदाउँदो सूर्यलाई पूजा गर्ने प्रचलन छ। मिथिलामा भने उदाउँदो सूर्य सहित अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने गरिन्छ। राकेश लेख्छन् : मैथिल समाजमा मात्रै सूर्यका यी दुवै रुपको आराधना गरिन्छ। यसप्रकार मैथिल संस्कृतिलाई सहिष्णु, समदर्शी र समन्वयवादी एवम् सामञ्जस्यपूर्ण संस्कृति भन्न सकिन्छ र यसको ज्वलन्त प्रमाण छठको महान् एवम् महिमाशाली पर्व हो (राकेश, २०५७)।  

+++

काठमाडौं र मिथिला सम्बन्धको परापूर्व कालदेखि बलियो छ। सिमरौनगढदेखि काठमाडौंका दरबारसम्म मिथिला र नेवारी कथा र संगीतको संगम रहेको यथेस्त प्रमाण छन्। अहिले पनि फागुमा काठमाडौंमा मैथिल गीतहरु गाउने परम्परा छ। काठमाडौंमा चाडपर्व नभएको महिना हुन्न। त्यसै गरि मिथिलामा पनि प्रत्येक महिना केही न केही पर्वहरु मनाइने गरिन्छ। जसरी काठमाडौंका गल्ली र सहरमा नेवारी संस्कृतिको जीवन्त झलक देख्न पाइन्छ। मधेशमा पनि मैथिल संस्कृति अझै जीवित छ। तिनै जीवन्त संस्कृति मध्ये छठ पनि एक हो।

काठमाडौंमा मधेशबाट वर्षौंदेखि मानिसहरु बसोबास गरिरहेपछि अहिले जस्तो छठ पर्वको रौनकता पहिला थिएन। रानी पोखरीमा भेला भएर छठ पर्व मनाउन सुरु गरिँदाको समय र अहिलेको समय निकै फेरिएको छ। कुनै बेला तराईको मात्रै पर्वका रुपमा कहलिए पनि पछिल्लो समय छठ राष्ट्रिय पर्व नै बनेको छ। राष्ट्रपति, प्रधानमन्त्री लगायत सहभागी भइ राज्यस्तरबाटै छठ कार्यक्रम आयोजना हुँदै आएको छ।

पछिल्लो समय छठ पर्वले पनि काठमाडौं र मैथिल संस्कृतिलाई फेरि एक ठाउँमा ल्याउने काम गरिरहेको छ। छठले राजधानीसँग मधेशलाई जोड्ने सेतुको रुपमा काम गरिरहेको छ भन्दा फरक नपर्ला।

जसरी गथांमुग: मा नेवारहरुले इनार, पोखरी सफा गर्छन्। त्यसरी नै छठको बेला मधेशमा त्यहाँका जलाशयहरु सफा गर्ने गरिन्छ। यस्ता पर्वहरुले हामीले हाम्रो प्राकृतिक स्रोतको संरक्षणका लागि सोच्न लगाउँछ। पुर्खाले बनाएको पोखरीको महत्व दर्साउँछ। वर्षको एक-दुई दिन भए पनि यस्ता पानीका स्रोत सफा गर्दा त्यसले समाजलाई फाइदा पुग्छ। अत: यस्ता पर्वले काठमाडौं र मधेशलाई सांस्कृति रुपमा जोडिरहेको छ।

नेवार समुदायमा हिन्दु र बौद्ध धर्म मान्ने भए पनि यो प्रकृति पूवक समाज हो। यस्तै, मैथिल संस्कृति मान्नेहरु पनि प्रकृति पूजक नै हुन्। यसैले संस्कृतिकर्मीहरु पनि छठ पर्व अहिले साझा पर्वका रुपमा स्थापित हुँदै गएको बताइरहेका छन्। छठ पर्वले कुनै जात वा समुदाय मात्रै नभन्ने र कसैलाई विभेद नगर्ने भएकाले यो प्रकृतिको पूजा सबैको साझा बन्दै गएको उनीहरुको मत छ।

काठमाडौंलाई याद हुने गरि यो वर्षदेखि छठकै अवसरमा वाग्मती नदीमा धाप ड्यामको पानी छोडिँदैछ। बढ्दो शहरीकरणका कारण ढलमय वाग्मती, विष्णुमतीमा पानी बगाउने छठ एउटा राम्रो अवसरका रुपमा समेत स्थापित भएको छ। यसले हामीलाई नदी र पानीको महत्व बुझाउँछ।

त्यसैले अहिले छठी माताको दर्शन गर्न मधेशी मूलका मानिसमात्रै काठमाडौंका जलाशय पुगिरहेका छैनन्। सबै जात सम्प्रदायका मानिस पुगेर छठी माताको भक्ति गरिरहेका छन्।