कात्तिक डबलीमा कात्तिक नाच

३८३ वर्षदेखि चल्दै आएकाे पुरानो कात्तिक नाच ललितपुरमा शुरु(७ तस्बिर)

ललितपुर, २२ कात्तिक । ललितपुरमा हरेक वर्ष तिहार लगत्तै मञ्चन गरिने ऐतिहासिक कात्ति प्याखं (कात्तिक नाच) बुधबारदेखि शुरु भएकाे छ । पाटन मंगलबजारस्थित कात्तिक डबलीमा यो नाच हुने गर्दछ ।

यो वर्ष कात्तिक नाच १० दिन प्रदर्शन गर्ने तालिका कार्तिक नाच संरक्षण समितिले सार्वजनिक गरेको छ । पहिले पहिले यो नाच २७ दिनसम्म लगातार प्रदर्शन गर्ने चलन थियो । पछि प्रदर्शन गर्ने दिन घट्दै गयो । यो वर्ष १० दिन अर्थात कात्तक ३० गतेसम्म प्रदर्शन गर्ने समितिले जनाएकाे छ ।

आजभन्दा करिब ३८३ वर्ष अघि यो नाच शुरु भएको थियो । ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले यो नाच आरम्भ गरेको इतिहास पाइन्छ । यसको रचना भने सिद्धिनरसिंह मल्लका गुरु हरिवंश राजोपाध्यायले गरेको बताइन्छ ।

ललितपुरमा हरेक वर्ष तिहार लगत्तै एउटा ठूलो पर्वकै रूपमा कात्तिक नाच प्रदर्शन गर्ने परम्परा रहँदै आएको छ । मंगल बजारमा यही नाच मात्रै देखाउन ‘कात्तिक डबली’ भनी छुट्टै डबली बनाइएको छ । यो नाच त्यही डबली बाहेक अन्य ठाउँमा देखाइँदैन ।

यो नाचमा विशेष गरी भगवान बिष्णुका विभिन्न अवतारसँग सम्बन्धित सन्दर्भहरूलाई नाचका रूपमा प्रदर्शन गर्ने चलन छ । नाचको पहिलो दिन ‘भक्त सुरदास प्याखं’ प्रदर्शन गरिन्छ । नाचकाे दाेस्राे दिन बाथः प्याखं प्रदर्शन गरिन्छ भने एवंरितले युद्ध कला (शितज्वर विषम ज्वर युद्ध), देवी प्याखं, जल शयन (मधु कटैव वध), वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला र दधि लीला नाच प्रदर्शन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएकाे छ ।

नाच संरक्षण समितिका अनुसार हरेक राति ७ बजे यो नाच शुरु हुन्छ । कात्तिक नाच राति नै प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।