शंखधरले जनताको ऋणमोचन गरेर लोकतन्त्रको प्रयोगको थालनी गरेका थिएः उपप्रमुख डंगोल

काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनताद्वारा जनताकै निमित्त जनताले शासन गर्ने व्यवस्था नै लोकतन्त्र भएको भन्दै मुलुकमा लोकतन्त्र नहुँदै शंखधर साख्वाले लोकतन्त्रको प्रयोग गरेको स्मरण गर्नुभएको छ ।
पद्मरत्न लुमन्ति गुठीले आज काठमाडौंको रत्नपार्कमा ‘नेपाल संवत्का प्रवर्तक शंखरधर साख्वा’ दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोध गर्दै उपप्रमुख डंगोलले यस्तो उल्लेख गर्नुभएको हो ।
‘नेपालमा लोकतन्त्र नहुँदै शंखधर साख्वाले जनताको ऋणमोचन गरेर सबै जनतालाई सुख र समृद्धिको बाटोमा लैजाने प्रयास गर्नुभएको थियो,’ डंगोलले भन्नुभयो, ‘उहाँले त्यसैबेला सबै एकजुट भएर अघि बढ्नुपर्छ भन्ने सन्देश पनि दिनुभएको थियो ।’
डंगोलले अहिले पनि सबै एकजुट भएर लाग्ने हो भने हरेक समस्याको समाधान गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले बेथितिका विरुद्ध पनि सबै एकजुट भएर लाग्ने हो भने त्यसलाई अन्त्य गर्न सकिने उल्लेख गर्नुभयो । एकजुट हुनुपर्ने ठाउँमा विभाजित भइयो भने त्यसले सकारात्मक परिणाम नदिने उहाँको भनाई थियो । उहाँले शंखधरका पालमा पनि ऋणमोचन गर्ने कुरामा एकजुट नभएको भए त्यो संभव नुहेन उल्लेख गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै डंगोलले नेपाल भाषालाई कामकाजको भाषामा पनि प्रयोग गर्ने सन्र्दभमा आफू निर्वाचित भएर आएदेखि नै महत्वका साथ लिएको भन्दै त्यसले सकारात्मक परिणाम दिइरहेको उल्लेख गर्नुभयो ।
‘मौलिक भाषालाई बचाई राख्ने सबै भन्दा ठूलो दायित्व सरकारको हुन्छ,’ उहाँले भन्नुभयो, ‘तर, त्यसका लागि समूदायबाट पनि खवरदारी भइरहनुपर्छ । अहिले पनि नेपाल भाषाकै सन्दर्भमा कुरा गर्ने हो भने हामीले कागजी रुपमा पनि प्रयोग गर्दै आएका छौँ । तर, त्यसको खवरदारी भने समुदायबाट निरन्तर भैरहनुपर्छ ।’ उहाँले काठमाडौं महानगरपालिकाले मौलिक भाषालाई बचाई राख्नका लागि मौलिक नामहरुको पुर्नस्र्थापना गरिरहेको पनि स्मरण गराउनुभयो ।