उपत्यकाका नेवा: समुदायले मनाए सकिमिला पुन्ही

काठमाडाैं, ३० कात्तिक । उपत्यकाका नेवा: समुदायले आज सकिमिला पुन्ही मनाएका छन् । हरेक वर्ष कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई सकिमिला पुन्हीको रुपमा मनाउँने गरिन्छ ।

विशेष गरि काठमाडौ उपत्यकाको बौद्ध नेवा: समुदायले विभिन्न मठमन्दिरमा भगवान नारायण र शिवको पूजा आरधना गर्दै मनाउने यो पर्व, नेवा:हरुको एक साझा पर्व हो।

यस दिन मकै,भटमास, केराउ, बकुला, गहुँलगायत विभिन्न गेडागुडीहरु भुटेर खाने गरिन्छ, त्यसैले हलिमली पुन्हीको नामले पनि यस दिनलाई चिनिन्छ।

यस दिन मुख्य रुपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भग्वानलाई चढाउने गरिन्छ, त्यसैले यस पर्वलाई सकि ( पिँडालु, तरुल आदि) मना ( उसिन्नु) = सकिमना पुन्ही पनि भनिन्छ। विभिन्न नामले सम्बोधन गरिने यस पर्वमा घर-घरमा मकै, भटमास, बकुला आदि विभिन्न अन्नहरु भुटेर खाने गरिन्छ।

यस दिन विभिन्न मठ-मन्दिर, बहाल, चैत्य अगाडी विभिन्न अन्नहरु मिलाएर विभिन्न कलाकृतिहरु बनाइ प्रदर्शन गर्ने गरिन्छ। यसलाई हलिमली ब्वयेगु भन्ने गरिन्छ, र यसरी कलाकृती बनाएपछी, विभिन्न गुठीका व्यक्तिहरुले परम्परागत वाद्यवादन बजाइ रागहरु गाएर गीत गाउने गरिन्छ। अन्तिममा यी सबै अन्नलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको छ। अन्नबालीहरु भित्र्याए पछिको अलिकती फुर्सदको समयमा मनाइने यस पर्वलाई चख: अर्थात् सानो पर्वको रुपमा लिइन्छ भने यसमा घर-परिवार मात्र सम्मिलित भइ मनाउने पनि गरिन्छ।

यसै पुर्णिमाको दिन देखि च्वबहा:( हाल चोभार) को एक महिने मेला समापन हुने गर्दछ। यसै गरि आश्विन पुर्णिमा देखि सुरु गरिने आकाश दिप पनि आज अन्तिम बत्ती दिएर समापन गरिन्छ भने, मठ-मन्दिरहरु अगाडि उठाइएका काठको खाँबोहरु आज मध्यरातमा निकाल्ने परम्परा रहेको पाइन्छ।

यस्तै उपत्यकाको बज्रयान बौद्ध धर्म अनुसार आजकै दिन तथागत विपश्वी बुद्धले नागर्जुन पर्वतबाट ध्यानबाट उठेर तत्कालीन समयमा दह रहेको यस उपत्यकामा कमलको बीउ छर्नु भएको मान्यता रहेको पाइन्छ। त्यसैले आजको दिनलाई स्वयम्भू सेवाको रुपमा पनि लिइन्छ।आजको दिन अन्न दान गरेमा आफ्नो घरमा अन्नको अभाव नरहने, र आफ्नो खेतबारीमा बाँझोपनले नसताउने जनविश्वास पनि रहेको पाइन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *