अराजकता मुलुकको विकास, समृद्धि र जनताको सपनाको बाधक होः महासचिव पोखरेल (भिडियोसहित)
काठमाडौं, ३० कात्तिक । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अराजकता मुलुकको विकासको, समृद्धिको र जनताको आकांक्षाको सपनाको बाधक भएको बताउनु भएको छ ।
नेकपा (एमाले)ले आगामी मंसिर ७ गते राजधानीमा आयोजना गर्ने ‘जागर सभा’ बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनु भएको हो । ‘अराजकता मुलुकको विकासको, समृद्धिको र जनताको आकांक्षाको सपनाको बाधक हो भन्ने जनतालाई बताएर अराजकताको दुरुत्साहन गर्नु जिम्मेवार दलहरुको कर्तव्य हो,’ उहाँले भन्नुभयो, ‘मुलुकलाई अराजकताबाट मुक्त गराएर परिवर्तनको आकांक्षालाई सही दिशा प्रदान गर्ने कुराको जरुरी ठानेर नै नेकपा (एमाले) ले ‘जागरण सभा’ गर्न लागेको हो ।’ महासचिव पोखरेलले अहिले उपनिर्वाचनको नजिक आएको भन्दै उपनिर्वाचनको सम्मुखमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न पनि जनताका विचमा ‘जागरण सभा’ गर्न लागेको प्रष्ट पार्नुभयो ।
‘सरकारमा रहेका राजनीतिक दल र स्वयं प्रधनमन्त्रीले पनि जनताका विचमा जाने कुरा अन्यथा होइन,’ सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ उहाँले भन्नुभयो, ‘सत्तापक्ष जनताका बिचमा जानु हुँदैन भन्ने कुरा हुँदैन । हामीले भारतीय प्रधानमन्त्रीकै कुरा गर्ने हो भने पनि अहिले उहाँ निर्वाचनका बेला विभिन्न ठाउँमा भाषण गरेर हिँडिरहनु भएको छ । त्यसैले सत्तापक्ष जनताका विचमा जानै हुँदैन भन्ने कुरा होइन । सत्तापक्ष पनि जनताका विचमा जान्छ । आफ्ना दृष्टिकोणहरु स्पष्ट पार्छ ।’
उहाँले दुई ओटा कारणले गर्दा नेपालमा अस्थिरता सिर्जना गर्नेहरुको मनोबल घटेको पनि प्रष्ट पार्नुभयो । ‘पहिलो, सरकारमा रहेका राजनीतिक दलहरुले आफ्नो सामूहिक प्रतिवद्धता गरे । त्यसले अस्थिरता सिर्जना गर्नेहरुको लगाम लागेको छ,’ उहाँले भन्नुभयो, ‘दोस्रो, सरकारमा रहेका राजनीतिक दलहरुले राजनीतिक स्थायित्व खोज्ने भनेर जुन खालको संकल्प खोजेका छन् त्यसमा दृढतापूर्वक उँभिएका कारण पनि त्यो शक्ति कमजोर भएको छ । तर, एक प्रकारले जनतालाई भविष्यप्रति आशावादी बनाउनु पर्ने जरुरी भने छ ।’
उहाँले अराजकता भन्ने चिज कस्तो हुन्छ भने एउटा उदाहरण प्रस्तुत गर्दै भन्नुभयो– ‘सत्यले घरबाट निस्किने प्रयास गर्दागर्दै झुटले संसार फड्को मारेर आइसक्छ’ अराजकताको यस्तो सिकार आमसञ्चार माध्ययम पनि भएका छन् ।’ उहाँले कार्यक्रममा सम्वोधन गर्दै प्रधानमन्त्रीको चीन भ्रमण सद्भावना भ्रमण हुने पनि उल्लेख गर्नुभयो । विगतदेखिको चीनसँगको उच्चस्तरको समझदारी जे छ, त्यो कामय रहने उहाँको भनाई थियो । एमालेले आगामी मंसिर ७ गते काठमाडौंको भृकुटी मण्डपमा ललितपुर, भक्तपुर र काठमाडौंको संयोजनमा ‘जागरण सभा’ गर्दै छ ।
मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जागरण सभा आयोजना गर्न लागेको हो । जागरण सभाले पार्टीको दृष्टिकोण, धारणा, आमजनताका बीचमा पुर्याउने लक्ष्य एमालेले लिएको छ । जागरण सभालाई भव्य र सुव्यवस्थित बनाउन एमालेले स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय जागरण सभा संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजकमा पार्टीका बाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल रहनुभएको छ भने सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेवे, शमिक बडाल र जनक चौधरी रहनुभएको छ ।