जस्तो मन्दिर उसैको बाहनको आकृति, दाफा गुञ्जिँदा भक्तपुरमा यस्तो देखियो सकिमना पुन्हिको रौनक

काठमाडौं । शुक्रबार साँझ रमेश प्रधानांग भक्तपुर प्रवेश गर्ने द्वार नजिकैको गणेश मन्दिरमा अघि मुसाको आकृति बनाउन व्यस्त थिए। मकै, भटमास, गहुँ र तायबाट हलिमलि बनाउन उनीसँगै टोलका दाजुभाइहरु लागेका थिए। त्यससँगै हात्तीको हलिमलि पनि बनाउन सुरु भएको थियो अर्को समूहबाट।

नेपाल संवतको पहिलो पूर्णिमाको दिन सकिमना पुन्हिको अवसरमा काठमाडौं उपत्यकामा पिँडालु उसिनेर खाने र नसाः (मकै, भटमास, गहुँ र ताय)बाट विभिन्न आकृति (हलिमलि) बनाउने गरिन्छ।

भक्तपुरको सकुलढोका, दत्तात्रय, तौमढी लगायत विभिन्न क्षेत्रमा यसरी हलिमलि बनाएर दाफा गाउनेहरुको कमी थिएन शुक्रबार।  हलिमलिसँगै विभिन्न रोटी समेत सजाउने गरिन्छ।

प्रधानांगका अनुसार पहिला गुठीबाटै यसरी रोटी, मकै बनाउने गरिन्थ्यो। बिहानैदेखि टोलका मानिसहरु भेला भएर रोटी बनाउने गर्ने। अहिले त्यसरी जुट्ने फुर्सद धेरैलाई छैन। त्यसैले पसलबाट अर्डर गरेर संस्कृति धान्न बाध्य छन् उनीहरु।

उनले भने : यसो नगरे त संस्कृति नै बच्दैन।

भक्तपुरमा जुन देवताको मन्दिर हो त्यसैको बाहन हलिमलिका रुपमा बनाउने गरिन्छ। तौमढीमा रहेको भैरव मन्दिर अगाडि भने सकिमना पुन्हिमा विशेष भिड लाग्ने गर्छ। यहाँ भैरव मन्दिर अगाडी ठूलो आकारको हलिमलि बनाइन्छ। यहाँ य:सिं र बिस्कामा तानिने भैरवको रथको आकार बनाइन्छ नसा: बाट।

घरघरबाट पिंडालु, सखरखण्ड भुटेको मकै, गहुँ, केराउ, लगायत अन्न लगेर हलिमलि बनाउने स्थानमा चढाउने गरिन्छ। बिहानैदेखि यसरी हलिमलि बनाउने प्रकृया सुरु भए पनि साँझ भने विशेष हुन्छ। टोलटोलमा रहेका दाफा भजनहरु साँझ विभिन्न रागमा गुञ्जिन्छन्। शुक्रबार भक्तपुरको ससाना गल्लीमा रहेका दाफाहरु पनि गुञ्जयमान थिए।

दाफाहरुमा धेरैजसो बुढापाका देखिए पनि तौमढीमा भने युवाहरु नै दाफामा सक्रिय थिए।

स्थानीय प्रेम श्रेष्ठ भन्छन् : अहिले संस्कृतिसँग युवाहरु जोडिएर काम गरिरहेका छन्। तर, यसको निरन्तरताको लागि स्थानीय सरकारको सहयोग आवश्यक छ।

दत्तात्रय मा पनि साँझ सकिमना पुन्हिको रौनक थियो। मन्दिर पछाडि दाफा भजन सकिए पछि राति बनाइएको हलिमलि स्थानीयलाई बाँडिएको थियो। पर्यटकहरु पनि निकै रमाइलो मानेर मकै भटमास खाइरहेका थिए। नेपालमण्डलको संस्कृति बुझिरहेका थिए।

सकिमना पुन्हि जाडो महिना सुरु भएको संकेत स्वरुप मनाइने पर्व हो। उसिनेको पिंडालु, सखरखण्ड लगायतका खानेकुरा खाएर शरीरलाई न्यानो बनाउनुपर्छ भन्ने भाव यो पर्वले बोक्छ।

यो पर्वको अर्को पक्ष भने विभिन्न हलिमलि बनाउनु हो। यसरी हलिमलि बनाउने प्रक्रियाले नेवार समुदायको समृद्ध कलालाई उजागर गर्छ। यसरी प्रस्तुत गर्ने कलाले धेरैलाई आकर्षित गर्छ। त्यसैले पर्यटकदेखि स्थानीय भक्तपुरको विभिन्न टोलमा पुगेर हलिमलि हेर्न पुग्छन्।

यता काठमाडौंमा पनि सकिमना पुन्हिको अवसरम यसरी अन्नको विभिन्न आकार बनाइन्छ। असनको अन्नपूर्ण मन्दिर अगाडि बनाइने अन्नको आकृति हेर्न मानिसको शुक्रबार घुइँचो लाग्यो। इतुंबहा: लगायतका बहा: बहीमा पनि शुक्रबार यसरी अन्नको आकृति बनाइयो।

सकिमना पुन्हि नेपालमण्डलको मौलिक चाड हो। आफूसँग भएको अन्नको सम्मान र उपयोगसँगै ऋतु अनुसार शरीरलाई तयार गर्नुपर्छ भन्ने सन्देश दिने यो पर्वबारे प्रचारप्रसार भने हुन सकेको छैन। काठमाडौं, भक्तपुर र ललितपुरको विभिन्न टोलमा यसरी हलिमलि प्रदर्शन हेर्न आन्तरिक र बाह्य पर्यटकलाई प्रचारप्रसार गर्न सकिन्छ। यसले दुईटा कुराको फाइदा हुन्छ। पहिलो संस्कृतिको प्रचार हुन्छ। अर्को यसले स्थानीय अर्थतन्त्र बढ्छ।

अब सकिमना पुन्हि जस्तो पर्वलाई युवासँग जोडर मनाउनुपर्ने बेला पनि आइसकेको छ। त्यसका लागि स्थानीय सरकारले नै पहल गर्नुपर्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *