अन्तर्राष्ट्रिय छविमै हानी पुर्याउने प्रचण्ड अभिव्यक्तिमा एमालेको आपत्तिको अर्थ
काठमाडौं, २ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ । तर, उहाँको आलोकाँचो प्रवृत्तिका कारण पटक–पटक विवादमा आइरहनु हुन्छ । पछिल्लो पटक प्रधानमन्त्री पदबाट हटेपछि संयमता गुमाउनु भएका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विभिन्न कटाक्ष गरेर आफूलाई शितलता दिने प्रयास गर्दै आउनु भएको छ । उहाँ अहिले पनि प्रमुख विपक्षी दलको नेताको हैसियतमा हुनुहुन्छ ।
तर, आफ्नो जिम्मेवारीलाई समेत भुलेर र कुटनीतिक मर्यादालाई समेत कत्लेआम गर्ने गरी भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति दिएपछि उहाँको तिब्र आलोचना भएको छ । अस्थिरताको पर्याय बन्दै आउनु भएका प्रचण्डले संयमता गुमाउँदै केही दिन अघि दक्षिण भारतबाट प्रकाशन हुने अङ्ग्रेजी भाषाको अखबार ‘दि हिन्दू’ मा प्रचण्डले यस्तो स्तरहीन अभिव्यक्ति दिएर कूटनीतिक मर्यादा र देशको स्वाभिमानलाई समेत गिराउने काम गर्नुभयो कि त्यसको भारी मूल्य अहिले आफैँ चुकाउन बाध्य हुनुभएको छ । प्रधानमन्त्री ओलीले भारतभन्दा पहिला चीनको भ्रमण गर्न लागेर चाइना कार्ड खेलेको तथ्यहीन आरोप लगाएपछि अहिले उहाँको तिव्र आलोचना भएको छ ।
आफु पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनबाटै गरेको इतिहासलाई समेत विर्सिएर प्रचण्डले सत्ता गुमाउनु पर्दाको बर्बराहत पोख्दै ओलीको आसन्न चीन भ्रमणलाई ‘चिनिया कार्ड’ खेलेको भन्नु देशको स्वाभिमान गिराउने अभिव्यक्ति हो । प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई चिनियाँ कार्ड भन्दै गलत भएको अभिव्यक्ति त्यो पनि भारतीय मिडियालाई दिनु भनेको आफ्नौ हैसियत भुल्नु हो भन्दै सर्बत्र आलोचना भएको छ ।
सत्ताको नेतृत्व गरेको दल नेकपा (एमाले)ले त उहाँको त्यो अभिव्यक्तिको खण्डन नै गरेको छ । परराष्ट्र मामिला विभागले विज्ञप्ति नै निकालेर प्रचण्डको अभिव्यक्तिको खण्डन गरेको हो ।
यतिसम्म कि प्रचण्डले भारतसँगको नेपालको सम्बन्ध इतिहास संस्कृति र भूगोलको कारण पनि सबैभन्दा सुरुमा भारतै जानुपर्ने दबाब सिर्जना गर्न खोज्नु भएको छ ।
कुटनीतिक क्षेत्रका विज्ञहरुले समेत देशको प्रधानमन्त्री औपचारिक भ्रमणका क्रममा एउटा छिमेकमा जान लागेकै बेला जिम्मेवार नेताले अर्को छिमेकीलाई उक्साउने र आपसी सम्बन्धमा आशंका उत्पन्न गराउने ढंगले अभिव्यक्ति दिनु आपत्तिजनक र कुटनीतिकरुपमा राष्ट्रिय हितविपरित हुने बताएका छन् ।
प्रचण्डले कुटनीतिक मर्यादा नै भुलेपछि एमालेले विज्ञप्ति निकालेर प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ जस्ता अभिव्यत्तिको खण्डन गरेको छ । अंग्रेजीमै निकालेको वक्तव्यमा प्रचण्डको अभिव्यक्तिले नेपालले नेपालको विकास र समृद्धिका अंग रहेका दुई छिमेकी भारत र चीनसँग राख्दै आएको कोमल सन्तुलनलाई नजरअन्दाज गरेको उल्लेख गरिएको छ ।
प्रचण्डको अभिव्यक्तिलाई आधारहीन, गैरजिम्मेवार तथा नेपालको सार्वभौम पहिचान र परराष्ट्र नीति विपरीत भएको भन्दै एमालेले प्रचण्डलाई उक्त भनाइ फिर्ता लिन र माफी माग्न आग्रह समेत गरेको छ । प्रचण्डको अभिव्यक्ति नेपालको अन्तर्राष्ट्रिय छविमै हानी पुर्याउने खालको भएको उल्लेख पनि विज्ञप्तिमा गरिएको छ ।