ग्वार्कोस्थित फ्लाई ओभर, कस्तो बन्दैछ, कहिले सकिन्छ ? (भिडियो रिपोर्ट)

ललितपुर, २ मंसिर । तपाईँ ललितपुरस्थित ग्वार्काे चोकमा अहिले पुग्नुभयो भने त्यहाँ नयाँ शैलीको पूर्वाधार निर्माण भैरहेको देख्न सक्नुहुनेछ । सडकको विबचमा दायाँ–बाँयाँ बारले छेकेर निर्माण भैरहेका त्यो पूर्वाधार ‘फ्लाई ओभर’ (ओभर पास) हो । नेपालमै पहिलो पटक नयाँ प्रविधिसहित यो फ्लाई ओभर निर्माणको काम अहिले द्रुतगतिका साथ अघि बढिरहेको छ ।

नेपालकै लागि नयाँ प्रयोग भनिएको यो फ्लाई ओभरको निरीक्षण गर्न केही दिन अघि मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि ग्वार्कोमा पुग्नुभएको थियो । मन्त्रालयका उच्च अधिकारीहरूसहित मन्त्री दाहाल केही दिन अघि बिहानै निर्माण स्थलमा पुगेर निरीक्षणपछि फ्लाई ओभर निर्माणको कामलाई थप गति दिने निर्देशन दिनुभयो । उहाँको निर्देशनपछि ठेकेदार कम्पनी पनि सकेसम्म समयमै निर्माण सम्पन्न गर्ने गरी अघि बढेका छन् । २०७८ साल फागुन १२ मा भ्याटसहित १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लागि निर्माण कार्य शुरु भएको उक्त फ्लाई ओभरको काम थप भएको म्यादमा पूरा गर्दा २०८१ को पुस ८ गते सम्पन्न गर्नुपर्ने हुन्छ ।

त्यहि फ्लाई ओभरको पछिल्लो प्रगतिलगायतका विषयमा रिपोर्टिङ गर्न मैत्रिन्युजको टिम ग्वार्को पुग्दा कामदारहरु काममा व्यस्त थिए भने ट्रकहरु माटो भर्न व्यस्त थिए ।
आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौले फ्लाई ओभर निर्माणको जिम्मा पाएको छ । यद्यपि, म्याद थपको ठेक्का सम्झौता अनुसार यहि पुस ११ गतेसम्ममा सम्पन्न गर्नुपर्ने भए पनि सममायवधि भित्रै सम्पन्न हुने संभावना भने कम देखिएको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठ पनि थप गरेको समयमा काम सम्पन्न हुन मुस्किल हुने बताउनुहुन्छ । उहाँका अनुसार अनुसार अहिलेसम्म पुल निर्माणको काम सम्पन्न भए पनि पुलको रेलिङ, पेभमेन्ट, रंगरोगलगायतको काम बाँकी छ । त्यसैगरी एप्रोज रोडलगायतको काम पनि बाँकी रहेको छ ।

ग्वार्को फ्लाई ओभरः कस्तो बन्दैछ, कहिले सम्पन्न हुन्छ ?

निर्माणधिन यो ‘फ्लाई ओभर’ अहिलेसम्म बालकुमारी तर्फबाट ३२० मिटरमध्ये २५६ मिटर जडान सम्पन्न भएको छ भने सातादोबाटोतर्फ १८० मिटर मध्ये १२० मिटर जडान सम्पन्न भएको छ । अप्रोच सडकको ५ सय मिटर काम अझै बाँकी छ भने यसबाहेक कालोपत्र हुन बाँकी छ । ग्वार्को फ्लाई ओभर अन्तर्गत ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण हुँदैछ भने यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बन्ने छ ।

यसमा बालकुमारी र सातदोबाटोबाट ¥याम बनाइएको छ । यो प्राजेक्स सम्पन्न भएपछि ७० प्रतिशत भन्दामाथि ट्राफित नियन्त्रणमा टेवा पुग्ने श्रेष्ठको दाबी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्र्तरगतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभात कुमार झाले पनि र्याम्पलगायतको काम बाँकी रहेको जानकारी दिनुभयो ।

कुल १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लागेको ग्वार्को फ्लाई ओभरको अहिलेसम्म वित्तीय प्रगति ४५ दशमल ५४ प्रतिशत पुगेको । ठेकेदार कम्पनीका अनुसार यो फ्लाई ओभरमा सुपर स्ट्रक्चरको लम्बाइ ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ । झाले यो प्रोजेक्ट सम्पन्न भएपछि यहाँको अनुभव हेरेर अन्यठाउँमा पनि काम गर्ने जानकारी दिनुभयो ।

नेपालमा नयाँ प्रयोग भएको भन्दै यस्ता पूर्वाधार निर्माणले आगामी दिनमा थप कामका लागि सहयोग पुग्ने झाको विश्वास छ । झाले यो नयाँ प्रयोग भएको भन्दै यसले नयाँ जनशक्ति उत्पादनमा सहयोग पुग्ने जानकारी पनि दिनुभयो । यो कम मूल्यमा सम्पन्न हुने गुणस्तरी प्रोजेक्ट रहेको उहाँको भनाई छ ।

यो ‘फ्लाई ओभर’ सम्पन्न भएपछि मंगलबजारबाट ग्वार्को, लुभु–लामाटार इमाडोल जाने र ग्वार्को इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी पुलमुनिबाट चल्नेछन् । ‘फ्लाई ओभर’ बाट चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् । जसका कारण धेरैहदसम्म जाम न्युनिकरण हुने अपेक्षा गरिएको छ ।