चीन पुगेर वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– अब जनस्तरमा पनि सम्वन्ध विस्तार

चाइना, ३ मंसिर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र चीनविच अनेक ऐतिहासिक, गहिरो र मैत्रीपूर्ण सम्वन्ध रहेको बताउनु भएको छ । उहाँले अब त्यस्तो सम्बन्धलाई दुई देशका जनताको तहमा विस्तारित गर्नका लागि दुई देशका प्रदेश र स्थानीय तहबीच भगिनी सम्बन्ध बृद्धि गर्न प्रस्ताव गर्नुभएको छ ।

नेकपा (एमाले) को उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहनु भएका पोखरेलले चीनका विभिन्न स्थानमा आयोजित औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा यस्तो प्रस्ताव गर्नु भएको हो । जवाफमा चिनिया नेता तथा जनप्रतिनिधिहरुले त्यसतर्फ अघि बढ्न सकिने बताउनु भएको छ ।

हुवई प्रदेश जनसरकारद्धारा आयोजित विशेष कार्यक्रमलाई संवोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– ‘चीन र नेपालका सरकार तथा चिनिया कम्युनिष्ट पार्टी र नेकपा (एमाले)बिच गहिरो ऐतिहासिक सम्वन्ध छँदैछ । अब जनस्तरमा पनि सम्वन्ध विस्तार गर्न जरुरी छ ।’

दुई देशका जनताबीच आत्मीय सम्बन्ध विस्तार गर्न गत हप्ता मात्रै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भगिनी प्रदेश सिचुवानको भ्रमण गरेको स्मरण गराउनुभयो । त्यसैगरी तिब्बतको नाछु प्रदेशका प्रमुखले भगिनी पालिका टोखा नगरपालिकाको भ्रमणलेबारे पनिउहाँले स्मरण गराउनुभयो । उहाँले मित्रताको साक्षी इतिहास, भूगोल, राजनीतिक, धार्मिक, सांस्कृतिक लगायतका ऐतिहासिक पक्ष रहेको स्मरण गर्नुभयो ।

हुवई प्रदेश जनसरकारका गभर्नर तथा चिनिया कम्युनिष्ट पार्टी हुवई प्रदेश पार्टीका महासचिब वाङ जोङलिङले चीन र नेपालविच सम्वन्ध राम्रो र भविष्य उज्जव रहेको चर्चा गर्दै सम्वन्ध र सहयोग आदान प्रदानका अनेक क्षेत्र रहेको बताउनुभयो ।

यसैगरी हुवई विश्वबिद्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपालको प्रगतिमा चीनको सहयोग र सद्भाव प्रशंनीय रहेको स्मरण गर्दै चीनमा नेपाली बिद्यार्थीले अध्ययन र बिज्ञता हासिल गर्ने अनुकुल वातावरण बन्ने अपेक्षा गर्नुभयो ।

विश्वबिद्यालयका उपाध्यक्ष ल्यु चिहङले बैज्ञानिक शिक्षा बिस्तारमा सहयोग आदान प्रदान भइरहेको चर्चा गर्दै भविष्यमा थप प्रगति हुने आशा ब्यक्त गर्नुभयो । भ्रमणका क्रममा बरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको टोलीले हुवई प्रदेशको ईन्सी नगरपालिका लगायतका स्थानहरुको अवलोकन गरेको थियो । नेपाली टोलीलाई चीनका विभिन्न तहका जनसरकार लगायत विभिन्न निकायहरुले स्वागत गरिरहेका छन् ।

टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गर्दैछ । पोखरेलले त्यहाँ आयोजित औपचारिक कार्यक्रमहरुलाई सम्वोधन गर्नु हुनेछ । बेइजिङमा उच्च स्तरीय भेटवार्ता समेत हुनेछ ।