एमालेलाई १ लाख जरिवानाको चिर्कटोमा मेयर बालनेले छरेको भ्रमको नालीबेली
काठमाडौं, ८ मंसिर । नेकपा (एमाले)ले मंसिर ७ गते दरबारमार्ग क्षेत्रमा जागरण सभाको आयोजना गर्यो । उक्त सभामा हजारौँको उपस्थिति रहेको थियो । काठमाडौंका विभिन्न स्थानहरु जस्तै बागबजार, वीर अस्पताल, रत्नपार्कलगायतका स्थानबाट जुलुस निकालेर रानीपोखरी नजिक भेला भएपछि भव्य जुलुस दरबारमार्ग पुगेको थियो । एमालेको जागरण सभाका कारण मंसिर ७ गते दरबारमार्गको चहल–पहल पनि निकै बढेको थियो । राजदरबार अघि बनाएको मञ्चबाट एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतले सम्वोधन गर्नुभयो । दिनभरी एमाले कार्यकर्ता पनि कार्यक्रमा निकै गज्जबसँग झुमेका थिए ।
पछिल्लो समय नेकपा (एमाले)का विभिन्न जनवर्गीय संगठनहरुले नयाँ खालको शैली अपनाउने गरेका छन् । त्यो हो, मुख्य गरेर खुला ठाउँमा भएका कार्यक्रम सम्पन्नपछि त्यहाँको सरसफाई गर्ने । मंसिर ७ मा पनि नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं युवा संघका पूर्व अध्यक्ष रमेश पौडेललगायतका युवाहरु कार्यक्रम सम्पन्न भएपछि दरबारमार्ग क्षेत्रको सरसफाई कार्यक्रममा व्यस्त थिए ।
त्यसैबेला काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको एउटा चिर्कटो बाहिरियो । त्यो चिर्कटोमा दरबारमार्ग क्षेत्रमा फोहोरमैला गरेको भन्दै नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासललाई जरिवाना तिराएको उल्लेख थियो । त्यो चिर्कटो नियोजित रुपमा काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको थियो । त्यो चिर्कटो सार्वजनिक भएको केहीबेरमै मूलधारका मिडियामा समेत ठूला अक्षरमा ‘बालेनले एमालेलाई तिराए एक लाख जरिवाना’ शीर्षकमा छापिए भने सामाजिक सञ्जालहरु त त्यसै पनि त्यो भ्रमपूर्ण सूचनाको त्यान्द्रो समातेर दुषित बने ।
पछिल्लो समय मुख्य गरेर सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको र त्यसमार्फत सबै राजनीतिक दल खराब भन्ने भाष्य निर्माण गर्ने गलत प्रयासहरु भैरहेका छन् । कुनै पनि राजनीतिक पृष्ठभूमि नभएका र कुनै योजना पनि नभएकाहरुले समेत त्यहि सामाजिक सञ्जालको दुरुपयोग गर्ने र भाइरल बन्ने प्रतिस्पर्धा पनि पछिल्लो समय बढ्दै आएको छ । आफू भाइरल हुन अराजक गतिविधि गर्ने र कुप्रचार गर्ने शैली पनि पछिल्लो समय दुबो जस्तै मौलाउन थालेको छ ।
यसरी गलत प्रचारको होडबाजी चलिरहेको र गतल सूचनाले समाजलाई नै विकृत बनाइरहेको भन्दै त्यस्तो भ्रम चिर्न भन्दै मंसिर ७ गते सरकारको नेतृत्व गरेको र संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) ले दरबार मार्गमा नयाँ शैलीको सभा गर्यो । तर, एमालेले जे भ्रम चिर्न सभाको आयोजना गरेको थियो साँझ परेपछि एमाले त्यहि भ्रमको शिकार बनिदियो ।
पछिल्लो समय काठमाडौं महानगर पालिकाका प्रमुख बालेन साह काम गर्ने भन्दा पनि सामाजिक सञ्जालमा भ्रम पैदा गर्ने र जनतालाई दिग्भ्रमित पार्ने रणनीतिमा बढी लागेको प्रष्ट देखिन्छ । सामाजिक सञ्जालको सबै भन्दा बढी दुरुपयोग कसैले गरेको छ भने त्यो काठमाडौंका मेयर बालेन साहले नै गरेको देखिन्छ । सामाजिक सञ्जालमा अराजक टिप्पणी गर्ने र ठूला दलको कठोर आलोचना गरेपछि सबै भन्दा बढी प्रसंशा पाइन्छ भन्नेमा मेयर साह ढुक्क छन् ।
काममा भन्दा पनि भाइरल बन्ने रणनीतिका कारण अहिले महानगरपालिकाले गरेको अनगिन्ती कमजोरीहरु ओझेल पर्ने गरेका छन् । त्यति मात्रै होइन नेकपा (एमाले) र त्यसमा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा बढी प्रसंशा पाइन्छ र अरु काम नगरे पनि चर्चामा रहिरहन्छ भन्ने मेयर साहलाई राम्रोसँग थाहा छ । त्यसैले साहले पटक–पटक ओली लक्षित टिप्पणी गरेर आफूलाई चर्चामा ल्याउने रणनीति अख्तियार गरेको देखिन्छ । हिजो साँझ महानगरपालिकाले सार्वजनिक गरेको चिर्कटो प्रकरण पनि त्यसैको एउटा उदाहरण हो ।
महानगरले समातेको ऐनको त्यान्द्रोले छाडेको भ्रम यस्तो छ
एमालेको कार्यक्रम सम्पन्न भएपछि युवाहरु सरसफाइमा जुटिरहेका बेला महानगरपालिकाले सार्वजनिक गरेको चिर्कटोमा ‘खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक पेटीमा जथाभावि फोहोर गरी वातावरण प्रदुषण गरेकाले फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिका आर्थिक ऐन २०८१ अनुसार १ लाख जरिवाना गरिएको छ’ भन्ने उल्लेख थियो ।
महानगरपालिकाले दुई वटा ऐनको त्यान्द्रो समातेर त्यो चिर्कटो सार्वजनिक गरे पनि त्यो जरिवाना दुबै ऐनसँग मेल खाने खालको छैन । हचुवाका भरमा र लोकप्रिय बन्ने मोहमा मेयर साहकै निर्देशनमा सार्वजनिक गरेको चिर्कटो अनुसार काठमाडौं महानगरपालिका आर्थिक ऐन २०८१ को हवला दिइएको छ । त्यो ऐनमा कतै पनि एक लाख जरिवाना तिराउने भन्ने उल्लेख छैन । काठमाडौं महानगरपालिका क्षेत्र भित्रबाट फोहोर उत्पादकहरुबाट आवधिक वा पटके रुपमा अनुसूचि १४ बमोजिम फोहोरमैला शुल्क लिने उल्लेख छ । अनुसूचि १४ पनि त्यो प्रावधान भेटिन्न । महानगरपालिकाले वातावरण फोहोर मैला व्यवस्थापन सरसफाई सेवा सुल्क भनेर चियापसलदेखि पाँचतारे होटलसम्म र विद्यालयदेखि ठूला स्टोरसम्मलाई तोके पनि साहले सार्वजनिक गरेको चिर्कटोमा उल्लेख भए जस्तो हतार–हतार दरबारमार्गलगायतका स्थानमा कार्यक्रम गरे वापत एक लाख तिराउनुपर्ने प्रावधान कतै देखिँदैन ।
त्यसैगरी त्यो चिर्कटोमा ‘फोहोर मैला व्यवस्थापन ऐन २०६८’ को साहारा लिइएको छ । त्यसमा पनि महानगरपालिकाले तोकेको जरिवानासँग कतै पनि मेल खाँदैन । फोहोर मैला व्यवस्थापन ऐन २०६८’ को परिच्छेद–९ को कसूर तथा सजाय खण्डको ३८ मा कसैले देहायको कुनैकाम गरेमा यस ऐन बमोजिम कसूर गरेको मनिने छ भन्ने उल्लेख छ । त्यो खण्डमा स्थानीय तहले तोकिदिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गरेको अवस्थामा लगायत उल्लेख गरिएको छ ।
त्यसकै खण्ड ३९ को सजायमा दफा ३८ को खण्ड (क) बमोजिमको कसूर गर्ने व्यक्तिलाई स्थानीय तहले पहिलो पटक भए पाँच हजार रुपैयााँसम्म जरिवान, दोस्रो पटक सोही कसूर गरेमा पाँच हजारदेखि दश हजार रुपैयाँसम्म जरिवाना र सोही कसूर तेस्रो वा सोभन्दा बढी पटक गरेमा प्रत्येक पटकका लागि पध्र हजार रुपैयाँका दरले जरिवाना गरी फोहरमैला उठाउँदा लाग्ने खर्च तिराउने भन्ने छ ।
यस्तै दफा ३८ को खण्ड (ट), (ठ) र (त) बमोजिम कसूर गनेलाई स्थानीय तहले पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने छ भन्ने उल्लेख छ । दफा ३८ को (ट) मा रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, संस्थाजन्य फोहोरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने–गराउने भन्ने उल्लेख छ । त्यस्तै (ठ) मा औद्योगिक प्रतिष्ठान वा स्वास्थ्य संस्थाहरुले उद्योग वा संस्थाबाट निस्कने हानिकार फोहोरमैला जथाभावी फाल्ने काम गरेमा भन्ने उल्लेख छ । त्यस्तै (त) मा दफा ४४ विपरीत रासायसनक विषादीको आयात गने वा म्याद नाघेको (समयावधि सकिएको) औषधि नष्ट गर्ने जिम्मेवारी पूरा नगरेमा भन्ने उल्लेख छ । यी कुनै पनि सन्दर्भले महानगरको चिर्कटोसँग मेल खाँदैन ।
दरबारमार्गमा एमालेले गरेको जागरण सभामा रासायनिक फोहरमैला, औद्योगिक फोहरमैला, संस्थाजन्य फोहोरमैला वा हानिकारक फोहरमैला जथाभावी फाल्ने, राख्ने वा निष्काशन गर्ने–गराउने गरेको देखिन्न । त्यति मात्रै होइन रासायसनक विषादीको आयात गने वा म्याद नाघेको (समयावधि सकिएको) औषधि नष्ट गर्ने जिम्मेवारी पूरा नगर्ने काम पनि एमालेले गरेको देखिन्न । त्यसकारण पनि महानगरको चिर्कटोसँग मेल खाने कतै देखिँदैन ।
यसरी एमालेले त्यहाँ कार्यक्रम गरे वापत महानगरपालिकाले जरिवाना तोके जस्तै अन्य ठाउँमा पनि तोक्ने हो भने दिनहुँ माइतिघर मण्डलामा हुने आन्दोलन, रास्वपाले बालुवाटारलगयतका ठाउँमा गरेका आन्दोलनहरुमा पनि जरिवाना तोक्नुपर्ने हुन्छ । तर, मेयर साहले एमालेलाई जरिवाना तोकाएको नाटक गर्न पायो भने चर्चा बढी पाइन्छ भन्ने ठानेर नै त्यो गतिविधि गरेका हुन् भन्ने अनुमान गर्न धेरै दिमाग खेलाउन आवश्यक नै देखिँदैन ।
कुनै पनि ऐनले मेल नखाने जरिवाना तिराएर महानगरपालिकाले आफूलाई लोकप्रिय बनाउन र जनतामा भ्रम छर्न कतिसम्म हर्कत गर्दै आएको छ र गलत सूचनाको भ्रम फैलाएको छ भन्ने यो एउटा सानो उदाहरण हो, दरबारमार्ग जरिवाना काण्ड पनि ।