कालभैरव अगाडि नृत्य गर्दै गरिरहेका नरदेवी अजिमाको थायसफू विदेशी संग्रहालयमा, फिर्ता आउँला ?

काठमाडौं । केहीदिन भयो वसन्तपुर दरबार क्षेत्रमा बिहान र साँझको माहोल पहिला भन्दा फरक छ। १२ वर्षे ङतभुलु (नरदेवी) अजिमाको नृत्यु हेर्न मानिस यहाँ पुगिरहेका छन्।

शुक्रबार रातिबाट कालभैरव अगाडिको डबलीमा १२ वर्षे नाच सुरु भयो। स्थानीयका अनुसार करिब ३ दशकपछि यो डबलीमा देवगणहरु नृत्य गरिरहेका छन्।

काठमाडौंको मौलिक परम्परामा आधारित यो नृत्य प्रदर्शन भइरहँदा यससँग सम्बन्धित एउटा किताब भने विदेशको संग्रहालयमा रहेको खुलेको छ।

नृत्युमा प्रयोग हुने देवगणहरुको ख्वापा (मुकुन्दो) बनाउने तरिका उल्लेख भएको थायसफू अमेरिका स्थित संग्रहालमा छ। १९/२० शताब्दीमा तयार गरिएको यो किताबका लस एन्जलेस काउटी म्युजिम अफ आर्टसमा रहेको छ। हाल यो किताब सार्वजनिक रुपमा प्रदर्शनमा राखिएको छैन।

किताबमा सुथमाजु, गणेश, कुमार, महादेव, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी (वैष्णवी), महालक्ष्मी, बाराही, कुमारी, भैरव, अजिमा, चण्डेश्वरी, सिगिनी, ब्यांगिनी, चन्डासुर दैत्य, ध्वचा र खिचाको ख्वापाको आकृतिबारे उल्लेख छ।

 ‘यो त निकै दुख:द् कुरा हो,’ शुक्रबार वसन्तपुरमा भेटिएका एक स्थानीयले भने, ‘यो त फिर्ता ल्याउनुपर्ने हो।’

यो किताब त एउटा प्रतिनिधि उदाहरणमात्रै हो। नेपालबाट हजारौं मूर्ति र कलाकृतिका साथै इतिहास र संस्कृति बुझाउने किताब र चित्रहरु विदेशी संग्रहालयमा छन्। सन् १९५० पछि नेपालको सीमा विदेशीका लागि खुला भएपछि काठमाडौं उपत्यकाका विभिन्न भेगमा ‘भगवान’हरुको चोरी हुन सुरु भयो। मन्दिरहरुबाट भगवानमात्रै हराएनन् नरदेवीको थायसफू जस्तै कयौं अमूल्य किताबहरु समेत विदेशिए।

स्थानीयहरु यस्ता कलाकृतिहरु फिर्ता ल्याउनुपर्ने माग गरिरहेका छन्। तर, त्यो भने जसो सजिलो भने छैन। त्यसका लागि लामो कूटनीतिक प्रयास र राजनीतिक प्रतिबद्धता चाहिन्छ।

पछिल्लो समय विश्वभर चोरिएर र लुटिएर प्रायजस्तो पश्चिमा संग्रहालमा राखिएका मूर्ति र कलाकृति फिर्ता हुनुपर्ने माग बढिरहेको छ। विशेषगरी उपनिवेशमा रहेका देशहरुले इतिहासमा भएका गल्तीहरु सच्याउन पर्ने माग गर्दै मूर्ति फिर्ताका लागि आवाज उठाइरहेका छन्। अफ्रिकी देशहरुसँगै पूर्वी र दक्षिण एसियाली देशहरु यसमा अघि देखिन्छ। दक्षिण एसियामा पनि यो लहर चलेको छ।

भारत पनि पछिल्लो समय आफ्नो इतिहास फर्काउन लागिपरेको छ। अमेरिका जाँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले भारतीय कलाकृतिहरु फिर्ता गरे। केही समय अघि मात्रै फेरि करिब ९०० कलाकृति अमेरिकाले भारतलाई फिर्ता दिने निर्णय गरिसकेको छ।

यता चीनमा पनि मूर्तिहरु फिर्ता गर्ने र त्यहाँ भएका अन्य देशका मूर्तिहरु फिर्ता गर्ने अभियान नै चलाइएको छ।

नेपालमा के छ अवस्था?

नरदेवीको थायसफू जस्तै सयौं नेपाली मूर्ति र कलाकृतिहरु विदेशी संग्रहालयमा रहेको खुलिसकेको छ। तर, नेपालसँग कति मूर्तिहरु विदेशिएका छन् भन्ने यकिन तथ्यांक नै छैन। कहाँको मूर्ति कहाँ छ भन्ने जानकारी पनि छैन। संग्रहालयमा पुगेर कसैले तस्विर लिएर हाले मात्रै यसबारेमा जानकारी हुने अवस्था छ। कयौं मूर्तिहरु संग्रहालयको दराजमा बन्द रहेको जानकार बताउँछन् जुन अहिलेसम्म सार्वजनिक रुपमा राखिएका नै छैनन्।

पुरातत्व विभागले विदेशमा रहेका नेपाली मूर्तिहरु पहिचान गरेर फिर्ता ल्याउने प्रयास गरिरहेको छ। त्यसका लागि विभागले संस्कृति मन्त्रालयसँगै परराष्ट्र मन्त्रालय, विदेशमा रहेका नेपाली दूतावास र नेपालमा रहेका विदेशी दूतावाससँग सहर्काय पनि गरिरहेको छ। नेपाल हेरिटेज रिकभरी क्याम्पेन जस्ता संस्थाले पनि मूर्ति फिर्ता ल्याउन पहल गरिरहेको छ। विदेशमा रहेको नेपाली डायसपोराले पनि यसमा सहयोग गरिरहेको छ।

पछिल्लो समय मूर्ति फिर्ता ल्याउन सफलता पनि मिलिरहेको छ। पाटनको पट्को टोलको लक्ष्मी नाराणको मूर्ति अमेरिकाबाट फिर्ता ल्याइयो। यस्तै, पाटनकै रत्नेश्वर मन्दिरको टुँडाल अस्ट्र्लियाबाट फिर्ता ल्याइयो। अमेरिका र हङकङबाट फिर्ता ल्याइएको मूर्तिहरु दोलखा पठाइसकिएको छ। यस्तै, कयौं सफल मूर्ति र कलाकृति फिर्तीको उदाहरण छन् पछिल्लो समय।

 विभागका अनुसार पछिल्लो पटक १४९ वटा मूर्ति फिर्ता भइसकेका छन्। जसमा सबैभन्दा बढी मूर्ति अमेरिकाबाट ७६ वटा, चीनबाट २९ वटा, बेलायतबाट २२ वटा, भारतबाट १३ वटा, अस्ट्रेलियाबाट ५ वटा फिर्ता भएका छन्। अन्य केही देशबाट पनि केही मूर्ति फिर्ता भएका छन्।

करिब सय भन्दा बढी मूर्ति र कलाकृति पहिचान भएका छन्। तिनलाई फिर्ता ल्याउन कूटनीतिक पहल भइरहेको छ।

तलेजुको हार पनि अमेरिकामा फेला परेको छ। सो हार फिर्ता ल्याउन पनि पहल भइरहेको छ। तर अहिलेसम्म सफलता हासिल भएको छैन।

यस्ता कलाकृतिहरु विदेशी संग्राहलयमा बन्द हुँदा त्यसले नेपाली समाजको पहिचानमाथि नै प्रश्न उठाएको छ। कयौं मूर्तिहरु चोरी हुँदा त्यससँग सम्बन्धित संस्कारहरु पनि लोप हुन्छ। यसले समाजमा नकारात्मक असर नै पुर्‍याउँछ।

अहिले पनि मूर्तिहरु चोरीहरु क्रम रोकिएको छैन। जसले समाजमा असुरक्षाको भावसमेत सिर्जना गरेको छ। जसकारण सरकारले अब मूर्ति र कलाकृतिहरुको संरक्षणका लागि छुट्टै विशिष्ट कानुन निर्माण गर्नुपर्ने बेला भइसकेको छ। र, मूर्ति फिर्ता ल्याउन पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा राख्नुपर्छ।

महत्वपूर्ण कुरा भनेको यस्तो इतिहासको पहिचान गराउने मूर्ति र कलाकृति फिर्ता ल्याउन सरकारले कूटनीतिक पहल बढाउन पर्छ। त्यसका लागि राजनीतिक प्रतिबद्धता चाहिन्छ र कर्मचारीतन्त्रमा पनि यसको महत्वबारे जानकारी गराउनुपर्ने हुन्छ। तर, अहिले फितलो कूटनीति पहल र सम्पदा फिर्ती अभियानले महत्व नपाउँदा दैनिक जीवनसँग नै जोडिएका मूर्ति र कलाकृति नेपाल फिर्ता आउन सकेका छैनन्।