अन्तरद्वन्द्वले थिल्थिएको कांग्रेस र दयनीय रास्वपालाई पछिपार्दै काठमाडौं–१६ मा जित नजिक एमाले
काठमाडौं, १२ मंसिर । स्थानीय तहहरूका उपनिर्वाचन नजिकिँदै जाँदा ती तहहरूमा राजनीतिक सरगर्मी बढ्दै गएको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाका साथै काठमाडौँ महानगरको १६ नम्बर वडामा समेत उपनिर्वाचन हुँदैछ ।
काठमाडौँ महानगरपालिकाको १६ नम्बर वडाको उपनिर्वाचनमा धेरैका ध्यान केन्द्रित देखिएको छ । किनभने १६ नम्बर वडा जनसंख्या र इलाकाका हिसाबले यति ठुलो वडा मानिन्छ, जुन काठमाडौँ जिल्लाका केही नगरपालिकाका भन्दा पनि धेरै मतदाता रहेका छन् । २०४९ सालको स्थानीय तहको निर्वाचनयता नेकपा (एमाले) को वर्चश्व रहेको यो वडामा पछिल्ला स्थानीय तहका निर्वाचनहरूमा अपेक्षित सफलता पाउन नसके पनि यस पटक भने एमालेको पार्टी पंक्तिभित्र देखिएको एक ढिक्काका साथै उत्साह र अरू पार्टीहरूमा व्याप्त निराशा, अन्तरद्वन्द्व र पछिल्लो समय राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिकाका कारण पनि एमालेको विजय सुनिश्चित देखिएको छ ।
अन्तरद्वन्द्वले थिल्थिएको कांग्रेस
२०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ–१६ बाट नेपाली कांग्रेसका मुकुन्द रिजालले चुनाव जितेका थिए । तर २०८० भदौमा न्युमोनियाका कारण उनको निधन भएपश्चात् यो वडामा अहिले उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनमा कांग्रेसले देवेन्द्र पाठकलाई उठाएको छ । उनी कांग्रेसको वडासमितिको अध्यक्षसमेत हुन् । तर २०७९ को निर्वाचनमा वडासदस्यका प्रत्यासी रहेका उनी नेकपा (एमाले) का हर्क खातीसँग करिब १ हजार मतले पराजित भएका थिए ।
तत्कालीन वडाध्यक्ष रिजालको निधन भएपश्चात् हुन लागिरहेको यो उपनिर्वाचनमा कांग्रेसको एउटा पंक्तिले रिजाल–पत्नी कविता रिजाललाई मैदानमा उतार्न चाहेको थियो । किनभने रिजाल–पत्नीलाई चुनावी मैदानमा उतार्दा उनलाई कांग्रेसको मतका साथै सहानुभूतिजन्य मत पनि आउने कारण उनको पक्षमा माहोल बन्दै थियो । तर कांग्रेसले काठमाडौँ क्षेत्र नं. ७ का क्षेत्रीय सभापति देवेन्द्र पाठकलाई मैदानमा उता¥यो ।
उपनिर्वाचनको घोषणा भएसँगै कांग्रेसबाट अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिए । पछिल्लो समय ९–१० जना नै आकांक्षी देखिए, जसमा अहिले उम्मेदवारी दिएका पाठक, रिजाल–पत्नी आचार्य र शिव बोहरामध्ये पाठकले टिकट पाए । १६ नम्बर वडामा बोहराले कांग्रेसबाट टिकट नपाएसँगै उनको ठुलो पंक्ति पार्टी पंक्तिभित्रै असन्तुष्ट देखिएको छ, जसको प्रत्यक्ष असर चुनावी प्रचार प्रसारको क्रममै देखिन पुगेको छ ।
कांग्रेसभित्र धेरै आकांक्षीहरू देखिएका हुँदा र ती आकांक्षीहरू टिकट नपाएपछि अहिले पाठकलाई प्रचार–प्रचारमा सघाउन पनि उनीहरू हिच्किचाइरहेका छन् । चुनावी प्रचारका क्रममा अरू राजनीतिक दलहरूको घरदैलो कार्यक्रममा उत्साह देखिए पनि कांग्रेसभित्र भने कुनै उत्साह देखिएको छैन ।
समाजवादीको हौवा मात्रै
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (समाजवादी) ले एमालेको पक्षमा खस्ने मतमध्ये केही अंश सोहोरेकै कारण १६ नम्बर वडामा नेपाली कांग्रेसको उम्मेदवार बाजी मार्न सफल भए । करिव ६ सय मतले कांग्रेससँग पराजित भएको एमालेका तत्कालीन उम्मेदवार लक्ष्मीरत्न मानन्धरले त्यही निर्वाचनमा नै विजय हासिल गर्नेमा कुनै सन्देह थिएन । तात्कालिक समय पाटीं पंक्तिभित्र देखिएको छिन्नभिन्न अवस्था र अरू प्राविधिक कारणहरूका कारण निर्वाचनमा अपेक्षित सफलता हात पार्न सकेनन् ।
अहिले भने अवस्था पूरै बदलिएको छ । एमालेबाट छुटेर गएका नेकपा (एस) का अधिकांश नेता–कार्यकर्ताहरू पुनः घर फर्किसकेका छन् । अरू पनि फर्किने तयारीमा छन् । एमालेले उपर्युक्त स्थान र सम्मान दिए फर्किने आशा एसका अधिकांश नेता–कार्यकर्ताहरूमा देखिएको छ ।
नेकपा (एस) ले धेरै कमजोर मानिने मीनबहादुर मानन्धरलाई उठाएको छ । उनीहरू जनताबीच व्याप्त निराशालाई ‘क्यास’ गर्ने दाउमा छन् । तर अघिल्लो निर्वाचनमा मैदानमा रहेका लक्ष्मण गमालभन्दा धेरै नै कमजोर उम्मेदवारलाई मैदानमा उतारिएको हुँदा मीनबहादुरको चुनावी अभियानमा कुनै उत्साह देखिएको छैन । माहोल हेर्दा उनीहरूले चुनाव जित्नुमा भन्दा पनि एमालेसँग प्रतिशोध साँध्ने कार्यमा नै आफूहरूलाई केन्द्रित तुल्याएका छन् ।
रास्वपाको दयनीय अवस्था
पछिल्लो समय राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न खोजिरहेको रास्वपाले २०७९ को स्थानीय तहको निर्वाचनमा सहभागिता नजनाए पनि यस पटकको उपनिर्वाचनमा भने आफ्ना उम्मेदवारलाई अघि सारेको छ । कीर्तिपुर उपमहानगरपालिकामा आफ्ना उम्मेदवार नउठाए पनि काठमाडौँ–१६ मा भने एक जना महिला व्यवसायी रोजिना श्रेष्ठलाई वडाध्यक्षमा उठाएको छ ।
मौन अवधि लागु हुन केही दिन बाँकी छ । यो बीचमा एमाले, कांग्रेसको चुनावी माहोल बढ्दै गए पनि रास्वपाको माहोल भने शून्यवत् देखिन्छ । अहिले रास्वपाका अध्यक्ष रवि लामिछाने सहकारी ठगी प्रकरणको आरोपमा कास्की कारागारमा बन्दी छन् । रास्वपाका अरू केही नेता–कार्यकर्ता पनि सहकारी ठगी प्रकरणमा तानिएका छन् ।
अध्यक्ष रविको गलत कार्य सर्वत्र फैलिएको हुँदा १६ नम्बर वडामा सो पार्टीबाट प्रत्यासी रहेका श्रेष्ठले नैतिक रुपमा जनताको घरदैलोमा गएर प्रचार प्रसार गर्न सकिरहेकी छैनन् । वडाभित्र एउटा गाडी गुडाएर आफ्नो पक्षमा चुनावी प्रचार गर्नमा नै उनी ‘सक्रिय’ देखिएकी छन् । अघिल्लो निर्वाचनमा रास्वपालाई जिताउन अग्रपंक्तिमा रहेका व्यक्तिहरूसमेत यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीको नैतिक धरालत भासिएको कारण रास्वपाको पक्षमा खुलेर चुनावी प्रचार गर्न सकिरहेका छैनन् ।
छैन स्वतन्त्रहरूको रौनक
२०७९ को स्थानीय तहको निर्वाचनमा केही पालिकाहरूमा स्वतन्त्र उम्मेदवारहरूले विजय हासिल गरेका कारण ‘स्वतन्त्र भए चुनाव जितिन्छ कि ?’ भन्ने मनोदशामा रहेका केही व्यक्तिहरूले १६ नम्बर वडामा पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर स्वतन्त्र रुपमा उठेका उम्मेदवारहरूमा कुनै रौनक देखिएको छैन । जनताको घरदैलोमा जाने अधिकार हरेक उम्मेदवारलाई छ । तर स्वतन्त्रहरूको खासै प्रभाव सो वडामा देखिएको छैन ।
१६ नम्बर वडामा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने स्पष्ट छ । विगतदेखि नै यी दुई पार्टीबीचमा नै प्रतिस्पर्धा रहँदै आएको नजिरका आधारमा पनि यी दुई पार्टीबीच यस पटकको उपनिर्वाचनमा प्रतिस्पर्धा हुनेमा शंका÷उपशंका देखिदैन । १६ नम्बर वडामा कांग्रेसभित्र देखिएको चरम असन्तुष्टि र अन्तरद्वन्द्वले सो पार्टीको उम्मेदवारका निम्ति असहज वातावरण बनिरहेको अवस्था छ । तर एमालेको बढ्दो जनलहरका साथै पार्टी पंक्तिभित्र देखिएको एक ढिक्काले गर्दा पनि एमालेलाई चुनाव जित्न सहज बन्दै गएकोमा कुनै दुईमत देखिँदैन ।