लुँ:ति अजिमा जात्रा : खट उठाउन भेटिँदैनन् युवा, बालाचतुर्दशीको रातमा किन गरिन्छ ‘सर्पाहुति’ ?

काठमाडौंमा केहीदिन यता चिसो ह्वात्तै बढेको छ। यही जाडोपनबीच शुक्रबार रातिदेखि नै मानिसहरु पशुपति क्षेत्रमा सतविज छर्न भेला भए। पशुपतिमा मानिसको संख्या बढिरहँदा शोभा भगवती मन्दिर पारि रहेको लुँ:ति अजिमा (इन्द्रायणी) मन्दिरमा पनि छुट्टै चहलपहल थियो। भुस्या, मादल र धिमेको तालमा युवायुवतीहरु बाजा बजाउँदै थिए।  

यो अवसर हो प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मनाइने लुँ:ति अजिमा जात्रा हो। जहाँ मध्यरातमा गरिन्छ , सर्पाहुति हेर्ने अर्थात होममा जिउँदो सर्पको आहुति।

शुक्रबार रातिदेखि नै जात्राको चहलपहल सुरु हुँदा लुँ:ति अजिमा मन्दिर परिसरमा होमको तयारी हुन्छ। जौ, तिल, दाल, भट्मास, अमला, उखु, चामल लगायतका सामाग्री तयार गरेर राखिन्छ। होम गर्ने काम भने थकु जुजुको हुन्छ। थकू जुजुलाई मल्ल राजाको वंशजका रुपमा लिइन्छ।

त्यौडबाट थकू जुजु आएपछि मन्दिर परिसरमा चहलपहल थप बढ्छ। लुँ:ति अजिमा मन्दिर अघि गणेश, अशोक सुन्दरीको चित्र बनाइएको माटोको तीन भाडो राखेर पूजा सुरु गरिन्छ। त्यसपछि केही समय मन्दिर भित्र गोप्य पुजा गरिन्छ।

यो होममा सर्पसहित एक जोर माछा, एक जोर फट्याङग्रा, एक जोर परेवालाई जिउँदै होममा आहुति दिइन्छ। यसका साथै राँगाको टाउकोलाई पनि होममा आहुति दिइन्छ। आहुतिका लागि ती जीवहरुलाई बाहिरबाट ल्याउन पाइँदैन। मन्दिर आसपासबाट त्यही रात खोजेर ल्याउनु मान्यता थियो पहिला।

मन्दिर भित्र पूजा सकिएपछि थकुजुजु होम गर्ने ठाउँमा पुग्छन्। माटोका भाडामा राखिएको जौ, तिल लगायतका सामाग्रीहरु एकएक गर्दै होममा राख्दै जान्छन्।

त्यसपछि थकू जुजुले आहुति दिने जीवहरु राखिएको भाडा मंगाउँछन्। थकू जुजु एउटा जिउँदो माछा र फट्याङग्रालाई आकाशमा फाले भने अर्को माछा, परेवा र फट्याङग्रा  लाई यज्ञमा आहुति दिन्छन्। थकू जुजु राँगाको टाउको पनि आगोमा फाल्छन्।

सर्पको आहुति नभएको भने धेरै वर्ष भयो। सर्प नपाइने भएकाले आहुति दिन नसकिएको केही स्थानीय बताउँछन्। 

 पहिला पशुपतिमा जस्तै यहाँ पनि बालाचतुर्दशीमा मानिसकरु जाग्राम बस्न आउँथे। तर अहिले त्यो संख्यामा निकै कटौती भएको छ। कोर काठमाडौंको यो चाडलाई पाहा:चह्रे जतिकै ठूलो मान्छन्। तर, यसको प्रचारप्रसार र जात्रा प्रति युवाहरुको लगाव घट्दा जात्राको अस्तित्व नै संकटमा परेको छ।

‘पहिल धेरै स्थानबाटरु होम हेर्न यहाँ मानिस आउँथे। मन्दिर परिसरमा भिड हुन्थ्यो। अहिले त्यस्तो छैन,’ एक स्थानीय भन्छन्।

होम गर्नु एक दिन अघि भने इन्द्रायणी मन्दिरसँग सम्बन्धित गुठीबाट मन्दिरमा राँगा, बोका, अन्डाको बली चढाइएको थियो। आज लुं: ति अजिमालाई खटमा राखेर माथिल्लो नगरमा परिक्रमा गराइन्छ। अब योमरी पुन्हीमा फेरि इन्द्रायणीसँगै रहेको नित्यनाथ कहाँ बली चढाइन्छ। त्यो समय भने तल्लो टोलमा अजिमाका खटहरु घुमाइन्छ।

आहुति पछाडिको कथा

 

पौराणिक कथनअनुसार स्वर्गका राजा इन्द्रले आफू बाहिर जाँदा आफ्ना ५ वर्षीय भाइलाई सिंहासन सुम्पेर जाने निर्णय गर्छन। तर इन्द्रकी श्रीमती इन्द्रायणीले भने भाइलाई राजगद्दीमा राख्ने निर्णयको विरोध गर्छिन्। इन्द्रायणीले देवरलाई दुख दिन थाल्छिन्।

त्यो देखेर महादेव र पार्वतीकी छोरी अशोका सुन्दरीले भने इन्द्रका भाइसँग विवाह गर्ने निर्णय गर्छिन्। तर ऊ सानो भएकाले महादेव र पार्वतीले छोरीको कुरा स्वीकार गर्दैनन्। छोरीले इन्द्रका भाइलाई ठूलो बनाएर भएपनि विवाह गर्ने हठ लिएपछि अन्तत महादेव र पार्वतीले उनीहरुबीच विवाह गराउन बाध्य हुन्छन्।

इन्द्रका भाइलाई धेरै  दिएको भन्दै महादेवले इन्द्रायणीलाई सजायस्वरुप पृथ्वी लोकमा पठाउँछन्। इन्द्रायणीलाई पृथ्वीमा गरीब परिवारमा पठाइन्छ। उनका धेरै बच्चाहरु हुन्छन्।

इन्द्रायणीका सात दिदी बहिनी हुन्छन्। इन्द्रायणी गरिब भएको हुनाले दिदीहरुले उनलार्इ हेप्न थाल्छन्। एक दिन पशुपतिमा रहेकी आफ्नी दिदी बसलादेवी कहाँ भोजमा जाँदा भोज सकिसकेको हुन्छ।

बाँकी दिदी बहिनीलाई भान्छामा सम्मानका साथ भोज खुवाइए पनि इन्द्रायणीलाई भने घरको तल्लो भागमा बसाइन्छ। उनी आफ्ना सन्तानसहित भोकै घर फर्किन बाध्य हुन्छिन्। बाटोमा इन्द्रायणीका छोराछोरीले भोक लाग्यो भनेर  दिन्छन्।

पशुपतिबाट फसीकेब(हाल रञ्जना मल रहेको स्थान)मा आए पछि इन्द्रायणीले फर्सी देख्छिन्। बच्चाहरुलाई त्यही फर्सी खुवाउनु पर्‍यो भनेर लिएर जान्छिन्। थँहिति पुग्दा बच्चाहरुले फेरि भोक लाग्यो भन्दै दुख दिन्छन्। त्यो कुरा त्यहाँ रहेका एक मानन्धरले थाहा पाउँछन्। सबै कुरा बुझेपछि त्यो मानन्धरले इन्द्रायणीले ल्याएको फर्सी र आफूसँग रहेको खाना पकाएर खुवाउँछन्।

इन्द्रायणी त्यसपछि आफ्नो घर तिर लाग्छिन्। बच्चाहरुलाई खुवाउन हुन्छ भन्दै बाटोमा भेटिएको सर्प, परेवा, फट्याङग्रा, माछा र फालिरहेको राँगाको टाउकोसमेत घरमा लग्छिन्। त्यसैले पञ्च बलीका रुपमा ती जीवहरुको आहुति दिने गरिएको स्थानीयको कथन छ।

तर थाकेका ती इन्द्रायणी र बच्चाहरु सबै निदाउँछन्। भोलिपल्ट ती सबै सामानहरु सुनमा परिणत हुन्छ। यस्तै मानन्धरको घरमा खाएर बचेको खाने कुरा पनि सुनमा परिणत हुन्छ। मानन्धरले भने त्यो सुन ल्याएर इन्द्रायणीलाई दिन्छन्।

 

गरिब इन्द्रायणी एकाएक धनी हुन्छिन्। अर्को वर्ष उनी आफ्ना छोराछोरीसहित राम्रा लुगा र गहना फेरी दिदी कहाँ जान्छिन्। उनलाई देखेर सबै जना अच्चमित हुन्छन्। सबैले इन्द्रायणीको मान गर्छन्। घरमा माथि आएर भोज खान भन्छन्। तर उनले घर तल बसेर नै भोज खाने भन्छिन्। दिदी बहिनीहरुले भोज ल्याइदिएपछि उनले भोज नखाइ सबै खाने कुरा आफ्नो लुगा र गहनामा दल्छिन्। आफ्ना छोराछोरीहरुलाई पनि त्यस्तै गर्न भन्छिन्।

उनीहरुले आफूलाई नभइ आफ्नो लुगा र गहनालाई सम्मान गरेको भन्दै उनीहरुलाई भोज खुवाएको बताउँछिन्। सुनको गहना धेरै लगाएकाले उनलाई लु:ति अजिमा भन्ने गरिएको कथन छ। नेपाल भाषामा लु: भनेको सुन हो। यस्तै नुहाउँदा इन्द्रायणीको कपालमा सुनको झोल आउने भएकाले पनि उनलाई लु: ति ( सुनको झोल) अजिमा भन्ने गरिएको अर्को कथन छ।

उता मानन्धरले बालबालिकालाई खाना खुवाएर पुण्य कमाइन्छ भनेर अरुलाई पनि खुवाए त्यो सुन बन्ने भन्दै भोलि पल्ट सबै बालबालिकाहरुलाई मर:जा खुवाउने निधो गर्छ।

अहिले पनि सर्पाहुति सकेको भोलिपल्ट(आज)थँहितिका मानन्धरले मर:जा खुवाउने गर्छन्। मर:जा खुवाउँदा बालबालिकालाई रोग नलाग्ने कथन छ।

समस्या के छ ?

काठमाडौंको महत्वपूर्ण जात्रा भए पनि यसबारेमा थोरैलाई मात्रै थाहा छ। त्यसैले थँहिति मानन्धर गुठिले यस जात्राबारे जानकारी दिन केही दिन अघि कार्यक्रम नै आयोजना गर्‍यो। जसमा गुठिका सदस्यहरुको एउटै गुनासो थियो : जात्रामा खट बोक्ने मान्छे नै पाइँदैनन। बाहिरबाट ल्याउनुपर्छ।

पछिल्लो समय नेवार समुदायका युवाहरु जात्राहरुमा अग्रसार  हुन थालेका छन्। तर, हरेक समय जसो हुने जात्रामा सहभागी हुन सबैलाई सधैँ गाह्रो नि हुन्छ। त्यसैले सरकारले गुठिहरुलाई सशक्त बनाउँदै आर्थिक उपार्जन गर्ने वातावरण बनाउन सक्नु पर्छ। जब सम्म अर्थले जात्रा धान्ने अवस्था आउँदैन तबसम्म यो समस्या जारी नै रहन्छ।

बालाचतुर्दर्शीमा गरिने यो जात्राले काठमाडौंको अस्तित्व त बोकेको छ नै त्यसमाथि सर्पाहुतिले पृथ्वी र आकाशमा हुने विभिन्न सृष्टि र संहारलाई प्रतिबिम्बित गर्ने गरेको छ। जल, जमिन र आकाशमा पाइने जीवहरु सबै नाशवान छन् भनेर यो पर्वले बुझाउँछ। तर यस्तो विशिष्टकृत पर्वलाई संरक्षण र सम्बद्धन गर्न सकिएको छैन। गुठिहरुले जति सक्दो आफ्नो तर्फबाट काम गरिरहेका छन्। युवाहरुले पनि सक्दो उपस्थिति जनाइरहेका छन्। अब भने स्थानीय सरकारले पनि यसलाई जीवन्त बनाउन आर्थिक सहयोग गरेर यसको संरक्षण गर्न सोच्नुपर्ने बेला भइसकेको छ।