काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन काम गरिरहेका छौँः उपप्रमुख डंगोल

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँलाई वैवभशाली र पहुँचयुक्त सहर बनाउन क्षेत्रगत नीति, योजना र कार्यक्रममार्पmत महानगरपालिकाले काम गरिरहेको बताउनु भएको छ ।

आज टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । ‘सन्तुलित विकास निर्माण, विकास व्यवस्थापन तथा सहरी सेवा सुविधाको न्यायोचित उपयोगका लागि आवश्यक सबै अङ्गको सवलीकरणलाई एकीकृत र समन्वयात्मक पद्धतिबाट कार्यान्वयन गरिरहेका छौँ,’ कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले भन्नुभयो, ‘नागरिकमैत्री, मितव्ययी, प्रभावकारी, नतिजामूलक, सहभागितामूलक र पारदर्शी सेवाका लागि सूचना प्रविधिको अधिकतम र प्रभावकारी प्रयोग गरिरहेका छौँ ।’

कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, मेयर बालेन साहलगायतले पनि सम्वोधन गर्नुभएको थियो । दिवसको अवसरमा सामाजिक उन्नयनका लागि विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १० जना व्यक्तित्वलाई समारोहमा सम्मान गरिएको थियो । उपराष्ट्रपति यादव, प्रमुख शाह र उपप्रमुख डंगोलले उहाँहरुलाई सम्मानित गर्नुभएको हो ।

यसरी सम्मानित हुनु हुनेमा लोक गायनका क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट महानगरपालिकाका पूर्व प्रमुख पि. एल. सिंह, कलाकारितामा चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के. सुन्दरलाई सम्मान गरिएको थियो । यस्तै खेल क्षेत्रतर्फ तेक्वान्दोबाट संगिना वैद्य, भलिवलबाट प्रतिभा माली र क्रिकेटबाट ज्ञानेन्द्र मल्ल सम्मानित हुनुभयो । सम्मानित व्यक्तित्वहरुलाई नगद १ लाख ५० हजार रुपैयाँसहित दोसल्ला ओढाइएको थियो ।

समारोहमा सबै वडाबाट ल्याइएका सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेललगायत प्रदर्शन गरिएका थिए । दिवसका अवसरमा हिजो राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गरेर २३६ जना परम्परागत बाजा गुरुहरुलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरेको छ । ज्यापु महागुथि नेपाः, येँ महानगर समितिबाट शिफारिस हुनुभएका परम्परागत ६३ टोलका ६३ जना मु–धिमे गुरु र ५४ जना दाफा खिं गुरु, गुंलाबाजं व्यवस्थापन व संरक्षण संघबाट सिफारिस हुनुभएका २५ टोलका एकएक जना गुरु, नेपाल खड्गी सेवा समितिबाट शिफारिस हुनुभएका ६९ टोलका एक एक जना नायःखिं बाजं गुरु, नेपाल राष्ट्रिय खड्गी समाजबाट ९ टोलबाट शिफारिस हुनुभएका १५ जना गुरु, केन्द्रीय मानन्धर संघबाट सिफारिस हुनुभएका ३ टोलका ३ जना र विभिन्न संघसंस्थाहरुबाट शिफारिस हुनुभएका ७ जना बाजा गुरु हुनुहुन्छ ।

सोही कार्यक्रममा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरिएको थियो । १९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रुपमा मनाउने गरिएको छ ।