बालेन, रवि र दुर्गाहरु युवा पुस्तालाई अराजक, उछृङ्खल र अपराधी बनाउनेहरु हुन्ः महेश बस्नेत (भिडियो)
काठमाडौं, २२ पुस । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक मुख्यालय च्यासलमा जारी छ । अहिले विभिन्न विषयमा त्यहाँ छलफल चलिरहेको छ । बैठकमा उपस्थित सदस्यहरुले आ–आफ्ना धारणा राख्ने क्रम पनि जारी छ । आज केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा पनि नेताहरुले धारणा राख्ने क्रम जारी छ । बैठकमा सहभागी मध्ये युवा नेताहरुले पनि बैठकमा धारणा राखिरहेका छन् । एमालेका प्रखर युवा नेता महेश बस्नेत पनि बैठकमा सहभागी हुनुहुन्छ । उहाँ मुख्य गरेर बालेन साह, रवि लामिछाने र दुर्गा प्रसाईँका गतिविधिबाट असन्तुष्ट नेता हुनुहुन्छ । उनीहरुका शैलीको कडा आलोचना गर्ने बस्नेतले मैत्रिन्युजसँग कुराकानी गर्दै यस्तो बताउनुभयो ।
उहाँले बालेन, रवि र दुर्गाबारे गरेका टिप्पणी
हाम्रो समाज समाजिक सद्भावले भरिपूर्ण समाज हो । हाम्रो समाज विरामी भएका ठाउँमा एक केजी फलफूल बोकेर गएर स्वास्थ्य लाभको कामना गर्ने समाज हो । विभिन्न खालका चाडपर्वमा टिका लगाएर दक्षिणा र आर्शिवाद दिने चलन छ । यस्तो परम्परालाई तोडेर नयाँ पुस्तालाई अराजक, असभ्य बनाउँदैछन् । अश्लील गाली–गलौच गर्ने बनाउँदैछन् । त्यो गलत छ ।
अहिले सामाजिक सञ्जालमा जुन खालको गलत प्रवृत्ति हावी भएको छ । यो सन् २०१६ मा अहिलेका राष्ट्रपति डोनाल ट्रम्पले राजनीतिमा जुन ढंगले सामाजिक सञ्जालको उपयोग गरे त्यसपछि विभिन्न खालका मान्छेहरु आफ्नो व्यत्तित्व बनाउन, पदप्राप्ति गर्न भाइरल हुने रोग हावी हुन थाल्यो । त्यपछि भाइरल मान्छे र भाइरल पार्टीले राजनीति गर्ने र तिनीहरुले जनताका समस्या समाधान गर्ने भन्ने मनोविज्ञान बन्न थाल्यो । एउटा हाँस्य कलाकार जेलेंस्की युक्रेनको राष्ट्रपति भयो । जेलेंस्कीले खडा गरेको युद्धका कारण सारा संसार प्रताडित छ । पाकिस्तानमा पनि क्रिकेट खेलाडी इमारान खानले नेतृत्व लिएपछि हरिविजोग भएको छ । उनले सामाजिक सुरक्षा वापतको चार अर्व भन्दा बढी रकम हिनामिना गरेका कारण अहिले उनी जेलमा छन् ।
अहिले नेपालमा पनि एउटा र्यापर भाइरलम्यान काठमाडौं महानगर पालिकाको मेयर भएको छ । र्यापरले तोडफोड गरेको छ । सुकुम्वासीअरुलाई लखेटेको छ । नदी छेउछाउमा बस्नेहरुलाई अदालतलाई प्रभावित बनाएर २० मिटरलाई ४० मिटर मापदण्ड बनाउन लगाएर त्यो कार्यान्वयनका लागि भूमिका खेल्न लगाउँछ । मधेसको प्रतिनिधि भएर आएर काठमाडौंमा मेयर जित्यो भनेर खुशी भएकाहरुको खुशी खोसेर ठाकुर (तेली) साहलाई ठकुरी (शाह) हुँ भने जसरी कवाडी व्यवसायीमाथि आक्रमण गर्छ । काठमाडौंमा तरकारी बेच्ने सामान्य भन्दा सामान्य मान्छेलाई उसैका कमाण्डरहरुले साग, तरकारी लुटेर लैजान्छन् । बिहान आमाले बनाएको चिया बेचेर स्नातक गरिरहेको एउटा युवालाई बालेनका सेनाहरुले लखेट्छन्, कुट्छन् । अनि त्यो दृष्य हेरेर वाह बालेन राज्य भन्दै उफ्रिन्छन् । यो नवउदारवादी र अराजक तत्वको प्रहार राज्यका मूल अंगमाथि हुने गरेको छ ।
यिनीहरुले न्यायपालिका, कार्यकालिका र व्यवस्थापिकामाथि नै भ्रम फैलाउने काम गरेका छन् । त्योसँगै यिनीहरुले आर्थिक र व्यवसायिक क्षेत्रमाथि आक्रमण गर्छन । त्यसको गतिलो उदाहरण हो, न्युरोडमा, बानेश्वरमा, मारवाडी समूदायमाथि गरिएको आक्रमण । यस्ता कुरामा दुर्गा प्रसाईं र बालेन साहको यो सन्दर्भमा एउटै स्वर किन छ ? सस्तोमा दालभात खुवाउने, समाजसेवा गर्ने मारवाडी समूदायमाथि किन आक्रमण भैरहेको छ ? त्यसको सबै कारण भनेको अर्थतन्त्रलाई चौपट बनाउने, अर्थतन्त्रमा योगदान दिएका मारवाडी समूदाय, थकाली समूदायमाथि आक्रमण गर्ने र नेपालको संस्थागत संरचनालाई ध्वस्त बनाउने खेल हो । युवा पुस्तालाई अराजक, उछृङ्खल र अपराधी बनाई दिने कुरामा बालेन साह, रवि लामिछाने र दुर्गा प्रसाईँहरु लागेका छन् । यिनीहरुको शैली फरक होला, पारा फरक होला तर यिनीहरुले त्यसै गरिरहेका छन् ।