अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै
काठमाडाैं, २३ पुस । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ ।
मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।
अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिनुभयो ।
“नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ”, प्रवक्ता ठाकुरले भन्नुभयो, “टोलीले अध्ययन गरेर अहिले डिपिआर तयार गरिरहेको छ ।” पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्नेगरी काम अघि बढ्ने उहाँको भनाइ छ । अमलेखगञ्जबाट लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार भई सञ्चालमा आएपछि पश्चिमी र उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव नहुने उहाँको विश्वास छ ।
यसैगरी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको काम सकिएसँगै पाइप लाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरु गरेको छ ।