लस एन्जलस आगलागीका विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने

एजेन्सी, २९ पुस । लस एन्जलसमा लागेको भीषण डढेलो र आगलागीका कारण आफ्नो घरबाट विस्थापित भएका दशौँ हजार मानिस कम्तीमा चार दिनसम्म घर फर्कन नसक्ने अधिकारीहरूले बताएका छन् ।

आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार रातिसम्म २४ पुगेको छ भने विस्तथापितको सङ्ख्या करिब एक लाखको हाराहारीमा रहेको छ ।

यस पहिले करिब एक लाख ८० हजारभन्दा बढी व्यक्ति विस्थापित भएकोमा कम जोखिम रहेका क्षेत्रमा मानिसहरू फर्किसकेका छन् ।

पलिसेड्स फायर र इटन फायरको बीचमा बन्द गरिएको खतरा क्षेत्रमा प्रवेश गर्ने आशामा निराश विस्थापितहरूले चेकप्वाइन्टहरूमा लाइनहरू बनाएका छन् ।

धेरै जना घर फर्कन आतुर छन् किनकि उनीहरूले केही क्षणको सूचना पाएर औषधि वा लुगाफाटा मात्रै लिएर घर छोडेका थिए । कतिपय घरमा छुटेका वृद्ध तथा अशक्त परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन उत्सुक छन् ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आइतबार भन्नुभयो, “यस हप्ता हावाहुरीको पूर्वानुमानले आगलागीको आपतकालीन अवस्था अझै सकिएको छैन ।” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “उनीहरु घर जान सक्दैनन्, किनभने अझै वस्तीहरू सुरक्षित छैनन् ।”
उहाँले भन्नुभयो, “जतिसक्दो चाँडो बासिन्दाहरूलाई उनीहरूको घरमा फिर्ता ल्याउनु हाम्रो सामूहिक प्राथमिकता हो।”

गत हप्ता एक लाख ८० हजारको हाराहारीमा रहेका अग्नि नियन्त्रक क्षेत्रमा करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आदेश दिइएको छ ।

डढेलोको चपेटामा परेका क्षेत्रहरू तहसनहस भएका छन्, पूरै सडकहरू खरानीमय बनेका छन् र पूर्वाधारहरू नराम्ररी ध्वस्त भएका छन्।

लस एन्जलस काउन्टीका शेरिफ रोबर्ट लुनाले जोखिमको सम्भावनालाई सङ्केत गर्दै आफु मातहतका प्रहरी अधिकारीले मानिसहरुलाई डढेलो र आगलागी क्षेत्रबाट बाहिर राख्न निर्देशन दिएको बताउनुभयो ।