नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित

काठमाडौँ, ७ माघ । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्यो ।

स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् ।

बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाएका थिए ।