सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी: पर्यटन प्रवर्द्धनमा जोड

काठमाडाैं, माघ २२ । अष्ट्रेलियाको सिड्नीमा नेपालको संस्कृति, प्रकृति र जीवनशैली झल्काउने तस्बिर प्रदर्शनी आयोजना गरिएको छ।

अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवको अवसर पारेर मनघरी फाउन्डेसनले यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा फोटोग्राफर भरतबन्धु थापाले खिचेका तस्बिरहरू समावेश छन्।

उक्त प्रदर्शनीमा नेपालका सातै प्रदेशका २२ वटा तस्बिरहरू राखिएका छन्, जसले नेपालको भौगोलिक विविधता, सांस्कृतिक सम्पदा र जनजीवनलाई चित्रण गर्दछन्। प्रदर्शनीको उद्घाटन अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले गर्नुभयो।

कार्यक्रममा बोल्दै राजदूत यादवले नेपालको पर्यटन प्रवर्द्धनका लागि यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूलाई नेपालको प्रवर्द्धनमा सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो। “नेपालको विकासका लागि पर्यटन प्रवर्द्धन अपरिहार्य छ, र यस्ता तस्बिर प्रदर्शनीहरूले नेपालको सुन्दरता र विविधतालाई विश्वसामु चिनाउन मद्दत गर्दछ,” राजदूत यादवले भन्नुभयो। उहाँले विदेशमा रहेका नेपालीहरूलाई समय मिलाएर सपरिवार नेपाल भ्रमण गर्न पनि प्रेरित गर्नुभयो।

न्यू साउथ वेल्स (एनएसडब्लु) का वाणिज्यदूत सञ्जीव शर्माले नेपालको विविधतापूर्ण परिदृश्य, सांस्कृतिक सम्पदा र नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर थापालाई धन्यवाद दिनुभयो। उहाँले आफ्नो कार्यकालमा नेपालको पर्यटन प्रवर्द्धनमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस प्रदर्शनीले अष्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने र दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।