नेपालमा पहिलो पटक मौरी घारमा खतरनाक ‘ट्रोपिलाप्सिस माइट’ देखा पर्यो, सतर्कता अपनाउन विज्ञको सुझाव

चितवन, माघ २२ । नेपालमा पहिलो पटक मौरीको घारमा ‘ट्रोपिलाप्सिस माइट’ नामक सुलसुले देखापरेको छ, जसले मौरीपालन व्यवसायमा ठूलो चुनौती थप्ने संकेत देखिएको छ।
भारतलगायत एसियाका देशमा मौरीको घारमा यसले ठूलो क्षति पुर्याउँदै आएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले आयोजना गरेको तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका विदेशी वैज्ञानिकहरूले चितवनका मौरी घारहरूको निरीक्षण गर्ने क्रममा यो माइट फेला पारेका हुन्।
विश्वविद्यालयको कृषि सङ्कायले आयोजना गरेको ‘कृषि रूपान्तरण’ विषयक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी कोरिया र ताइवानका वैज्ञानिकहरूको टोलीसँगै पूर्वी चितवनमा रहेको व्यावसायिक मौरी घारमा निरीक्षण गर्दा यो माइट देखिएको हो।
विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्मेलन समितिका सदस्य अनुसन्धान तथा प्रसार उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाका अनुसार विश्वविद्यालयका मौरी तथा परागसेचनविज्ञ डा. केदार देवकोटा, मौरी विकास कार्यालय चितवनका प्रमुख सुजन अमगाई, आङ्दोङ् विश्वविद्यालय दक्षिण कोरियाका वैज्ञानिक चुलिआइ जुन र नेस्नल चुङ् सिङ विश्वविद्यालय ताइवानका वैज्ञानिक जेन यानसहितको टोलीले निरीक्षण गरेको थियो।
यसको आधिकारिक पुष्टि हुन अझै बाँकी छ। सम्पूर्ण प्रमाणहरू समावेश गरी नेपाल सरकारलाई पेस गरेपछि सरकारले यसलाई प्रमाणित गर्नुपर्ने हुन्छ। हालसम्म नेपाल सरकारले यहाँ मेलिफेरामा सो रोग नदेखिएको बताउँदै आएको थियो। खाग र भिर मौरीमा देखिएको भए पनि व्यावसायिक रूपमा पालिएका मेलिफेरामा यो रोग पहिलो पटक देखिएको हो। विज्ञहरूका अनुसार विदेशी वैज्ञानिकहरूले निरीक्षणका क्रममा देखिएका माइट ट्रोपिलाप्सिस भएको पुष्टि गरेका हुन्।
निरीक्षणका क्रममा भेरवा माइटसमेत देखिएको र यो जुन, जुलाई तथा अगस्तमा थप बढ्ने भएकाले कृषक र नेपाली विज्ञहरूलाई सतर्क रहन सुझाव दिइएको छ। तीन महिनाअघि नेदरल्यान्डमा भएको मौरीको रोग कीरा व्यवस्थापनसम्बन्धी सम्मेलनमा एसियाका देशमा ट्रोपिलाप्सिस ठूलो समस्या भएको भन्दै नियन्त्रणका विषयमा छलफल गरिएको थियो।
वैज्ञानिकहरूसँगै रहेका नेपाल मौरीपालक सङ्घका निवर्तमान अध्यक्ष शिव शर्माले माइट देखिएकाले अब कृषकहरू सतर्क भएर काम गर्नुपर्ने बताए। माइट फैलन नदिन सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
विश्वविद्यालयको कृषि सङ्कायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठले सम्मेलनका क्रममा अन्य विभिन्न महत्वपूर्ण उपलब्धि भएको भन्दै यो नयाँ समस्या पहिचान भएको बताए। “यसले मौरीलाई ठूलो असर पुर्याउँछ, समयमा नै नियन्त्रणका लागि काम थाल्नुपर्छ,” उनले भने। भारतलगायत देशमा यो समस्याका कारण मह उत्पादनमा कमी आउने गरेको छ।