पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ

काठमाडौँ, १० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोग गरी पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।
जल तथा ऊर्जा आयोगको सचिवालयले विश्व मौसम दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अपरिहार्य भएकाले यसलाई प्रविधिमार्फत सुदृढ बनाउन सरकार लागिपरेको बताए। यस वर्षको नारा ‘सबैका लागि समयमै पूर्वसूचना’ रहेको छ।
मौसमसम्बन्धी देशको पूर्वानुमान प्रणालीलाई सबल बनाउन राडार तथा सेटेलाइट प्रविधिको प्रयोगलाई सरकारले विस्तार गरिरहेको जानकारी दिँदै उनले मोबाइल फोनका माध्यमबाट सम्भावित जोखिम घटाउन ग्रामीण भेगसम्म पूर्वसूचना सेवा विस्तार गरिएको बताए।
मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा च्छोरोल्पा र इम्जा हिमतालको जलस्तर घटाउने काम सफलतापूर्वक सम्पन्न भएको र यस्ता कार्यले हिमतालजन्य बाढीको जोखिम न्यूनीकरणमा सहयोग पुगेको उल्लेख गरे।
उनले मुलुकका जलविद्युत् परियोजना, सिँचाइ योजना र दैनिक उपभोगका लागि उपलब्ध पानीको स्रोतको मुख्य आधार हिमनदी भएकाले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्दै हिमनदीहरूको संरक्षण, पूर्वसूचना प्रणालीको सुदृढीकरण र जोखिम घटाउनु सरकारको प्रमुख प्राथमिकता भएको बताए।
जल तथा मौसम विज्ञान सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था नभएकामा मन्त्रालयको नेतृत्वमा जल तथा मौसम विज्ञान नीति, २०८१ लागू गरिएको उनले जानकारी दिए।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले जल तथा मौसम विज्ञान विभागको सेवा विस्तार मन्त्रालयको प्राथमिकता भएको बताइन्।