प्राधिकरणमा हितेन्द्रदेवको कमव्याकः एक हप्ताभित्रमै लोडसेडिङ हुँदैन भनेर परिणाम देखाउँछु

काठमाडौं, १२ चैत । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा शपथग्रहण गराउनुभएको हो ।

शाक्य नेपाल सरकार, मन्त्रिपरिषद्को चैत ११ को निर्णयअनुसार नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा १७ को उपदफा (१) बमोजिम चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो ।

२०७८ साउन २५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहनु भएका शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणबाट हटाइएका शाक्यलाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने निर्णय गरेको थियो । उहाँले त्यतिबेला करीब ६ महिना मात्रै काम गर्ने अवसर पाउनु भएको थियो । आज उहाँले पदभार ग्रहण गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । लोडसेडिङ नहुने कुरा एक हप्ताभित्रमै रिजल्ट देखाउने उहाँले दाबी गर्नुभयो ।

‘२०७७ सालमा पनि लोडसेडिङ हुन्छ भनियो । त्यसबेला मैले डाटा लगेरै स्पष्ट पार्नु परेको थियो । र, आजका दिनमा पनि त्यो अवस्था कायमै छ । लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्रै हो,’ उहाँले भन्नुभयो, ‘मैले एक हप्ता भित्रमै लोडसेडिङ हुँदैन भनेर रिजल्ट देखाउँछु । उद्योगमा मात्रै लोडसेडिङ भइरहेको छ । यो पनि म कम गर्छु ।’