धवलशमशेरलाई हाजिर जमानीमा रिहा गर्ने तयारी

काठमाडौं, ५ वैशाख । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला प्रहरी परिसर, काठमाडौंको सिफारिसमा उनलाई रिहा गर्न लागेको हो।

प्राप्त जानकारीअनुसार, क्यान्सर रोगबाट पीडित राणालाई नियमित स्वास्थ्य परीक्षण (फलोअप)का लागि भारत जानुपर्ने भएकाले हाजिर जमानीमा रिहा गर्न लागिएको हो।

रिहाइ प्रक्रियाका लागि आवश्यक पर्ने उनको बयान लिने कार्य सम्पन्न भइसकेको स्रोतले जनाएको छ।