बालेनका तीन वर्षः भ्रष्टाचार मौलाउँदा ‘स्टन्ट’ रणनीति कमजोर बन्दै

काठमाडौं, ८ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेको आउँदो जेठ १६ गते ठिक तीन वर्ष पूरा हुन्छ । उहाँको यो तीन वर्षे कार्यकाललाई पछि फर्केर हेर्ने हो भने दीर्घकालिन महत्वका कुनै पनि काम गर्न सक्नु भएको छैन । त्यति मात्रै होइन उहाँले पहिलो कार्यपालिकाबाट निर्णय गरेका अधिकांश घोषणा असफल बनेका छन् ।
यो तीन वर्षे कार्यकालमा मेयर साहले घोषणा गरेका अधिकांश कार्यक्रम असफल मात्रै बनेका छैनन् उहाँले यो तीन वर्षे कार्यकाल २५ लाख फ्यान रहेको फेसवुक पेजको दुरुपयोग गर्दै ठूला राजनीतिक दललाई अराजक टिकाटिप्पणी गर्ने र उदण्ड गतिविधिको सुरुवात गर्ने खराव संस्कारको थालनी समेत गर्नुभएको छ ।
मेयर साहले पदभार ग्रहण नगर्दै बञ्चरेडाँडा पुगेर फोहोर फाल्ने ल्याण्डफिल साइट अनुगमन गर्दै फोहोर व्यवस्थापनको टुंगो नलगाई माला, खादा नलगाउने घोषणा समेत गर्नुभएको थियो । तर बालेनले थालेका कामले पूर्णता पाएका छैनन्, केही काम स्थगित नै भइसकेका छन् ।
उहाँले कार्यपालिका बैठकबाट पहिलो निर्णय गर्दै सडकका खाल्डाखुल्डी पुर्न, ढल निकास नियमित गर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने, कार्यपालिका बैठकले नगरवासीको गुनासो सुन्न ७ दिनभित्र कल सेन्टर स्थापना गर्ने, निजी रेस्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको थियो । तर, सबै घोषणा पूर्णतया असफल बनेका छन् ।
बरु उहाँले घोषणा गरे भन्दा बाहिर गएर सुरुमै आफूलाई स्टन्टमा अब्बल बनाउनुभयो । हचुवाका भरमा कहिले बेसमेन्ट पार्किङ हटाउने त कहिले फुटपाथको उठिबास लगाउने अनि कहिले डोजर आतंक मच्याउने अनि कहिलेचाँहि सुकुम्बासी बस्तीमा डोजर आक्रमण गराउने जस्ता स्टन्टका कारण सामाजिक सञ्जाल र मिडियामा छाइरहन पुग्नुभयो ।
स्वतन्त्र हैसियतमा मेयर मात्रै निर्वाचित हुनुभएका साहले केही राम्रो गर्ने अपेक्षासहित जनप्रतिनिधिले पनि उहाँलाई राम्रो साथ दिदैँ आए । त्यति मात्रै होइन उहाँले निर्वाचित भएको भोलिपल्टैबाट गरेका उदण्ड र आलाकाँचा कामलाई समेत जनताले आखाँ चिम्म गरेर पत्याइदिए । आशाको दियोमा मेयर साहका उदण्ड गतिविधिमा पनि जनप्रतिनिधि र जनता समेत चुपचाप बस्न थालेपछि उहाँको उदण्डता र निरंकुशताको पारो दिनप्रतिदिन उक्लिन थाल्यो ।
आफूलाई स्वच्छ छविको मेयरको पगरी गुथाएर ठूला राजनीतिक दललाई अपाच्य शब्दमा सामाजिक सञ्जालमार्फत गाली गर्ने साहका गलत गतिविधि पछिल्लो समय विस्तारै बाहिर निस्किन थालेका छन् । आफू नदेखिने अनि सचिवालयमा मनलाग्दी नियुक्ति दिएका विवादास्पद व्यक्तिहरुलाई उठ्तिपुठ्तिको जिम्मा दिने मेयर साहको रणनीतिले पछिल्लो समय एकपछि अर्को गर्दै फेल खान थालेका छन् । कहिले आफ्नो कार्यकक्षमा लाखौँ खर्च गरेर नीजि लिफ्ट राख्ने त कहिले आफ्नो क्वाटरका लागि करोडौ खर्च गर्ने साहको राजा बन्ने शैलीलाई जनप्रतिनिधिहरुले समेत खुलेर विरोध गर्न थालेपछि उहाँले यो तीन वर्षमा भित्रभित्रै गरेका गलत गतिविधिहरु एकपछि अर्को गर्दै बाहिर निस्किन थालेका छन् ।
एम्बुलेन्स खरिदमा मेयर साह र उहाँको सचिवालयले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खवर बाहिरिएको छ । त्यति मात्रै होइन मेयर साहले सचिवालयमार्फत गरेका भ्रष्टाचारका दर्जनौँ उजुरीका चाङ अहिले पनि अख्तियारमा रहेका छन् ।
साहको प्रत्यक्ष निर्देशनमा भएको भनिएको एम्बुलेन्स खरिदमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा परेको उजुरीमा उहाँका भाइ नाता पर्ने स्वकीय सचिव भुपदेव साह पनि मुछिनु भएको छ । यो एउटा सानो उदाहरण मात्रै हो । साहले अहिले विभिन्न बाहनामा आफ्ना सचिवालयका कर्मचारीमार्फत कमाउ धन्दालाई ध्यान दिन थालेपछि महानगरपालिका भित्रका कर्मचारीसमेत आतंकित बन्न थालेका छन् ।
सामाजिक सञ्जाल दुरुपयोग गरेर कर्मचारीहरुलाई समेत त्रासमा राख्दै आउनु भएका साहको निर्देशनमा दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याउने कामको ठेक्कापट्टा अघि मात्रै बढेन रिचार्ज काठमाडौं अभियानलाई समेत कत्लेआम गर्दै नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाउने काम भयो । सम्पदा संरक्षणको हिसावले हेर्दा पनि त्यो उचित काम थिएन ।
तर, साहकै निर्देशनमा करोडौं रुपैयाँ खर्च गरेर ग्रेनाइट लगाउने काम भयो । त्यो सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दा माथि व्रिक सोलिङ गरिएको छ र त्यसपछि पीसीसी ढलान गरिएको छ । त्यसभन्दा माथि ग्रेनाइट बिछ्याइएको छ । विज्ञहरुले त्यो कार्यलाई गलत भन्दै आलोचना गरेका छन् । त्यति मात्रै होइन विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्दा सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिने गफ चुट्नु भएका साहले त्यो गफलाई पनि गिज्याउँदै दरबारमार्गलाई टल्काउने हर्कत गर्नुभएको छ ।
महानगरका केही कर्मचारीहरु यो सबै बजेट कमिसनको चक्करमा भएको दाबी गर्छन् । आफू निकटका व्यक्तिहरुलाई साहको सचिवालयले ठेक्का पार्ने र राम्रो कमिशन लिने नीति अहिले महानगरमा हावी भएको गुनासो बढ्न थालेको छ ।
यस्ता धेरै नमूना मध्येको एक हो । हनुमानढोका परिसर र डबलीमा ढुंगा विच्छ्याउने काम । त्यहाँ अहिले १६ करोड ७६ लाख बढीको आयोजनामा ढुंगा विच्छ्याउने कार्य भैरहेको छ । सान्र्दभिक तुलसी जेभीले ठेक्का पाएको त्यहाँको काम २०८१ चैतमा सक्ने गरी सम्झौता भएको थियो । २०८० पुसमा सम्झौता भएको उक्त कामले अहिले पनि पूर्णता प्राप्त गर्न सकेको छैन । तर, त्यहाँ करोडौँको चलखेल भएको गुनासो आउने गरेको छ ।
महानगरपालिकाले झण्डै १७ करोडमा ठेक्का सम्झौता गरेको त्यहाँ हतारहतार ढुंगा विच्छाउनु पर्ने कुनै कारण थिएन । तर, कमिसनकै चक्करमा साहको निर्देशनमा त्यहाँ ढुंगा विच्छाउने काम भएपछि धेरैले ‘काम पाइनस्, … पोख अनि उठा’ भन्ने उखान जस्तै भएको भनी आलोचना गर्न थालेका छन् । सडकमा विच्छ्याइएको ढुंगाको आयू लामो हुन्छ । तर, साहले कमिसनको मोहमा एकपछि अर्को गर्दै सुशासनको गफमा कुशासनको खेती गर्न थाल्नु भएको छ । सुशासनको गफ चुटेर महानगरवासीको करमा कमिशनको रहर गर्ने बालेन शैलीलाई धेरैले ‘माछो देखे दुलो भित्र हात, सर्प देखे दुलो बाहिर हात’ को संज्ञा दिन थालेका छन् । दरबारमार्ग, हनुमान ढोका उदाहरण मात्रै हुन् ।
उहाँको टीमले महानगरपालिकामा भित्रभित्रै नक्शापासका नाममा कमिसन खाने, स्वर्णीम र गौरव योजनाका नाममा ठूलै रकम कुम्ल्याउने जस्ता गलत गतिविधि गर्दै आएको गुनासो बढ्न थालेका छन् । लामो समय चुपचाप बसेका जनप्रतिनिधि पनि अहिले बालेनको हर्कतबाट दिक्क भएर मुख खोल्न थालेपछि बालेनले गरेका गलत हर्कतहरु एकपछि अर्को गर्दै बाहिर आउने संभावना बढेको छ ।