आईपीयुमा निर्वाचित सांसदहरुलाई राष्ट्रिय सभा अध्यक्षको बधाई (भिडियोसहित)

काठमाडौं, १४ बैशाख । अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभामा निर्वाचित राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य र प्रतिनिधिसभा सदस्य सोभिता गौतमलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा उक्त समितिहरुमा नेपालका तर्फबाट सक्रिय सहभागिता र योगदानको अपेक्षा गर्नुभएको छ ।
आज राष्ट्रिय सभाको अठारौँ अधिवेशनको दोस्रो बैठकका क्रममा दाहालले सांसद शाक्य र गौतम दुबैलाई आफ्नो व्यक्तिगत र राष्ट्रिय सभाको तर्फबाट बधाई ज्ञापन गर्नुभएको हो ।
एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय सभा सदस्य डा. शाक्य आईपीयूको दिगो विकास स्थायी समितिमा विजयी हुनुभएको थियो भने स्थायी समितिको सञ्चालक समिति अन्र्तरगत विभिन्न समितिहरु मध्येको एक स्वास्थ्य समितिमा प्रतिनिधिसभा सदस्य सोभिता गौतम मनोनित हुनुभएको थियो ।
आईपीयुको १५० औं महासभाबाट नेतृत्व लिनुभएका सांसदहरु डा. शाक्य र गौतमलाई सभामुख देवराज घिमिरेले केही दिन अघि एक कार्यक्रमको आयोजना नै गरेर स्वागत तथा सम्मान गर्नुभएको थियो । उहाँले उक्त सफलतासँगै नेपाल थप हैसियतमा उपस्थित हुने अपेक्षा गर्नुभएको थियो ।
शाक्यले त्यहाँ माल्दिभ्स र इरानका दुई उम्मेदवारलाई पछि पार्दै उज्ज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा नेपालबाट प्रतिनिधित्व गर्दै विजयी हुनुभएको थियो । एसिया–प्रशान्त क्षेत्रबाट ३६ देशको प्रतिनिधित्व रहेको थियो ।