शिक्षक महासंघको आन्दोलन अन्त्य हुने संकेत, वार्ता सकारात्मक

 

काठमाडौँ, १६ वैशाख । शिक्षक महासंघले घोषणा गरेको आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र शिक्षक महासंघबीच भएको पछिल्लो वार्ता निकै सकारात्मक भएको र सहमतिको विन्दुमा पुगेको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन्।

मध्यरातिसम्म चलेको वार्तामा धेरैजसो विषयमा सहमति जुटेको र बाँकी विषयमा आजसम्म टुंगो लगाइने मन्त्री पन्तले जानकारी दिए। “वार्ता एकदमै सकारात्मक रूपमा अघि बढेको छ। यसलाई सकेसम्म छिटो टुंग्याउने तयारीमा छौं,” उनले भने। कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन हुने पनि उनले स्पष्ट पारे।

वार्तास्थलमै रहेका एक अधिकारीका अनुसार सहमतिको मस्यौदा तयार भइसकेको छ। उक्त मस्यौदा आन्तरिक छलफलका लागि महासंघका नेताहरूले लिएर गएका छन्। भोलि अन्तिम रूप दिने तयारी रहेको बताइएको छ।

वार्ताबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि वार्ता सकारात्मक भएको बताए। “संवादमै छौं। छलफल र संवादबाट निकास निस्किएपछि मात्र आन्दोलन रोकिन्छ,” उनले भने। यसले आन्दोलन अन्त्यको संकेत गरेको छ। केही विषयमा अझै छलफल आवश्यक रहेको उनको भनाइ छ।