प्रधानमन्त्रीको सम्बोधन समेत तोडमरोड गर्ने ‘गोयबल्स शैली’ लुम्बिनी घटनामा यसरी चिप्लियो (नालिबेली)
काठमाडौं, १ जेठ । केही सञ्चार माध्ययम जिम्मेवार नहुँदा र उनीहरु मिशन केन्द्रित अभियानमा लाग्दा त्यसले पाठक र जनता कतिसम्म भ्रम सिर्जना गरिदिन्छ र भ्रामक सूचनाले उनीहरुका मथिङ्गल नै कतिसम्म दिग्रभ्रमित बनाइदिन्छन् भन्ने एउटा जल्दोबल्दो उदाहरण हो प्रधानमन्त्री केपी शर्मा ओलीले २६ सय ४९ औँ जन्मजयन्तिका दिन बुद्धको जन्मथलो लुम्बिनीमा गरेको सम्बोधनका केही अंशलाई गरेको तोडमरोड ।
हो, पछिल्लो समय ‘कपिपेस्ट’ पत्रकारिता त मौलाएको छ नै त्योसँगै झुट कुरालाई पनि धेरैपल्ट दोहोर्याएर सयौँ पटक भनियो भने साँचो हुन्छ भनी प्रचार गर्ने हिटलरका सूचना मन्त्री गोयबल्स शैलीलाई समेत ‘कपिपेस्ट’ गर्ने एउटा समूह नै अहिले हावी भएको छ । त्यो समूहको काम नै पछिल्लो समय प्रधानमन्त्री ओलीले बोलेका सम्बोधन र गरेका कामलाई उल्टापाल्टी बनाएर भ्रम सिर्जना गर्ने ठेक्का परे जस्तो भएको छ ।
यो आलेखमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २९ गते बुद्धजयन्तिका दिन लुम्बिनीमा सम्वोधन गर्दै बुद्धले दिनुभएका शिक्षा विश्वका लागि महत्वपूर्ण रहेको सन्दर्भसँग जोडर गरेको सम्बोधनलाई त्यहि समूहले कतिसम्म तोडमरोड गरेर भ्रम सिर्जना गर्ने काम गर्यो भन्ने कुराको चर्चा गर्ने प्रयास गरेका छौँ ।
प्रधानमन्त्री ओलीले वैशाख २९ गते बुद्धजयन्तिका दिन लुम्बिनीमा सम्वोधन गर्दै ‘झण्डै–झण्डै अहिले भर्खरै मात्रै, केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै–झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो । तर, हात हालाहाल बढ्न पाएन, संयमको लागि उहाँहरुलाई धन्यवाद छ ।’
प्रधानमन्त्री ओलीले भनेको त्यहि कुरालाई एउटा समूहले गोयबल्स शैलीमा निकै ठूलो भ्रम फैलाउने प्रयास गर्यो । प्रधानमन्त्रीको उक्त सम्बोधनमा ‘तर, हात हालाहाल बढ्न पाएन, संयमको लागि उहाँहरुलाई धन्यवाद छ’ भन्नुको अर्थ बुद्धले दिएको शान्तिको सन्देश यस्ता युद्धहरुमा पनि संयमता अपनाउन उपयोगी छन् भन्ने अर्थबाट सन्देश दिन खोज्नु भएको हो भनेर बुझ्न धेरै मथिङ्गल घुमाउन आवश्यक नै छैन । तर, त्यो समूह प्रधानमन्त्री ओलीको विरुद्धमा नाङ्गेझार भएर उफ्रियो । उफ्रिएन मात्रै आफ्नै घरमा आगो लगाएर खरानीमा नाच्ने खालको शैली त्यो समूहले देखायो ।
प्रधानमन्त्री ओलीले सम्बोधनकै क्रममा थप अघि बढ्दै भन्नुभएको छ– ‘हामीले सुरुदेखि भन्यौं विस्तार हुन नपाओस है यो, यो हात हालाहालको स्थिति लडाईंमा परिणत हुन नपाओस भन्ने हामीले कामना ग¥यौँ ।’ यहाँ पनि प्रधानमन्त्री ओलीले ‘यो हात हालाहालको स्थिति लडाईंमा परिणत हुन नपाओस भन्ने हामीले कामना ग¥यौँ’ भन्नुभएको छ । यो ‘हामी अर्थात नेपाल र नेपाली विश्व शान्तिका पक्षमा छ । त्यसैले युद्ध नहोस् भनेर कामना गर्यौ’ भन्ने अर्थमा बाहेक बढी बुझ्नु पर्ने देखिँदैन । त्यो समूहले यस्लाई पनि अनेक अर्थ लगाएर नेपाली जनतामा भ्रम फैलाउने प्रयास गर्यो ।
ओलीले थप भन्नुभएको छ– ‘उहाँहरुसँग पनि कुरा ग¥यौँ’ एउटा देशको कार्यकारी प्रमुखले अर्को देशको कार्यकारी प्रमुखसँग जल्दाबल्दा घटनासँग सम्वन्धित भएर गर्ने कुरा कुनै अनौठो भएन । प्रधानमन्त्री ओलीले त्यसपछि पनि ‘नभन्दै’ भन्ने शब्द जोडेर ‘उहाँहरुले लडाईमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो’ भन्नुभएको छ । नभन्दै भन्ने शब्द आफैँमा संयोग भन्ने अर्थ लाग्ने शब्द हो ।
प्रधानमन्त्री ओलीले त्यसपछि पनि फेरि पनि केही खचपचहरु आरोप–प्रत्यारोपको स्थिति छ भन्दै बुद्धका शान्तिको सन्देशको अर्थ अहिले पनि छ, जहाँ पनि छ, व्यक्तिको मनस्थिति शान्तिका लागि छ । पारिवारिक शान्तिका लागि छ । सबै कुराका लागि शान्तिको महत्व छ भन्दै उहाँले बुद्धले दिएको शान्तिको सन्देशबारे थप गर्दै विश्वमा अहिले हतियारको युद्ध भैरहेका बेला यसको उन्मुक्तिका लागि नेपालले विश्व शान्तिका पक्षमा रहेर काम गर्नुपर्छ भन्नुभएको छ ।
तपाईँ–हामीले प्रधानमन्त्री ओलीको त्यो सम्वोधनलाई केलाएर हेर्ने हो भने त्यहाँ कतै पनि ओलीले आफूहरुले भनेपछि युद्ध रोकेको भनेर दलिल पेश गरेको देखिँदैन । यी शब्दहरुमा तपाईँलाई तोडमरोड गरेर लेखिएको हो भन्ने लाग्छ भने त्यो दिन बोधी टेलिभिजनले गरेको लाइभको १ घण्टा २२ मिनेटमा गएर दोहोर्याएर वा तेहेर्याएर सुन्न सक्नुहुन्छ ।
यी हुन् गोयबल्स शैलीमा उफ्रिएका मिडिया र व्यक्ति
भएको कुरा यति हो । तर, प्रधानमन्त्री ओलीको त्यहि सम्बोधनलाई योहो टेलिभिजन र देशसञ्चारले सम्वोधनलाई नै तोडमरोड गर्दै ओलीको उक्त भनाईको खिल्ली उडाउँदै समाचार बनाई दिए । देश सञ्चारले ‘भारत र पाकिस्तानबीचको युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकियोः प्रधानमन्त्री शीर्षकमा समाचार छापिदियो भने भने योहो टेलिभिजनले ‘युद्ध रोकेको ओलीको फुर्ती, फोनसम्म गरेका थिएनन्, आरजु पनि उस्तै बोल्न डराउनेले जस लिदैँ’ भनेर भिडियो समाचार नै बनाई दियो । संयोग के भने यी दुबै टेलिभिजन र अनलाइन राजावादीको ट्याग लागेका दुई सञ्चारमाध्ययम हुन् ।
यी दुई सञ्चार माध्ययम मात्रै होइन प्रधानमन्त्री ओलीको तील जति कमजोरी भेटियो भने पनि पहाड बनाएर उफ्रिने दुई विवादित पात्र अर्जुन पराजुली र नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यय पनि त्यहि सम्वोधनको त्यान्द्रो समातेर सामाजिक सञ्जाल नै दूषित बनाउने गरी नाङ्गै नाचे ।
दारी पालेर आफूलाई साधु ठान्ने पराजुली यस्ता पात्र हुन् । उनलाई दिनमा एक–दुई पटक कविताका नाममा ओलीविरुद्ध भँडास पोखिएन भने निद्रा नै लाग्दैन् । उनले ओलीको त्यति सम्वोधन भेटेपछि डिको बेगरको भँडास पोख्दै लेखिदिए ।
युद्ध गर्ने भारत र पाकिस्तान !
युद्ध रोक्ने नेपालका प्रधानमन्त्री !
जस पाउने अमेरिकाका राष्ट्रपति !
र पत्याई दिने हामी !
सुनेपछि हाँस्दा–हाँस्दै थुक सर्किएर कोही मर्यो भने त्यसको जिम्मेवारी कस्ले लिने ?!
पराजुली जस्तै ओलीका विरुद्धमा भँडास नपोखरी निद्रा नलाग्ने अर्का पात्र हुन् । उपाध्यय पनि नेपाल सरकारको सचिव हुँदा भ्रष्टाचार गरेको भनेर अख्तिारमा समेत तानिएका व्यक्ति हुन् । उनको अहिले काम भनेकै सरकारका विरुद्धमा सामाजिक सञ्जालमा नानाभाँती लेखेर दूषित बनाउने भएको छ । उनले पनि गोयबल्स शैलीमै लेखिदिए– ‘ट्रम्प त फटाहा रहेछन्, हाम्रा ओलीले गरेको कामको जस आफू लिन खोज्दोरहेछ ।’
त्यति मात्रै होइन उनले देश सञ्चारको समाचार शीर्षक सेयर गर्दै लेखिदिए ।
प्रम ओलीः ‘भारत र पाकिस्तानबीच झण्डै–झण्डै हात हालाहालको स्थिति आएको थियो । हामीले संयमित हुन आग्रह गरेपछि युद्ध रोके’
योहो टेलिभिजनले पनि युद्ध रोकेको ओलीको फुर्ती, फोनसम्म गरेका थिएनन्, आरजु पनि उस्तै बोल्न डराउनेले जस लिदैँ ।’ भनेर भ्रम फैलाउने प्रयास गर्यो । यी केही उदाहरणहरु मात्रै हुन् । पछिल्लो समय यस्ता केही समूह छन् जो सत्य सूचनाका बारेमा जानकार हुँदैनन् । तर, भ्रामक सूचना प्रवाहको खेतीमा भने यी सबै भन्दा अघि छन् ।