योङ ग्लोबल लिडरबाट ज्यापू समुदायको पहिचानलाई विश्वमा चिनाएको भन्दै उपप्रमुख डंगोललाई सम्मान

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललाई ज्यापू महागूथीलगायतका संस्थाले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेका छन् । डंगोलले संस्कृति, सम्पदा क्षेत्रमा गरेको योगदानसँगै केही समय अघि वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएको भन्दै सम्मान गरिएको हो । डंगोल संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोट हुँदा उहाँ पनि पर्नुभएको हो । दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिनु भएको थियो ।

उहाँले सम्मानपछि सम्वोधन गर्दै आफूलाई प्रदान गरिएको प्रतिष्ठित ‘वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५’ समूदायप्रति आफूले गरेको योगदानको प्रतिफल भएको भन्दै आगामी दिनमा पनि थप उर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफू राजनीतिक पृष्ठभूमिबाट भन्दा पनि समाजसेवाको भावनाले राजनीतिमा प्रवेश गरेको भन्दै बाल्यकालदेखि नै सामाजिक कार्यमा सक्रिय रहेको र ‘मिस नेवाः’ को उपाधि जितेको पनि स्मरण गर्नुभयो । उहाँले त्यसपछि नेवा समुदाय, भाषा, लिपि (विशेषगरी रञ्जना लिपि) र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको स्मरण पनि गर्नुभयो। ‘यो अवार्ड विश्वभरका ४० वर्षमुनिका प्रभावशाली युवा नेताहरूलाई प्रदान गरिन्छ, जसले आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् र भविष्यमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सम्भावना बोकेका छन्,’ उहाँले भन्नुभयो नेपालबाट राजनीति क्षेत्रमा यो अवार्ड पाउने थोरै व्यक्तिमध्ये आफू पनि एक हुन पाउँदा गर्व लागेको छ ।’

राजनीतिमा आउनुको कारणबारे प्रस्ट्याउँदै उहाँले समाजमा बृहत् र नीतिगत परिवर्तन ल्याउन राजनीतिक तहमा नै पुग्नुपर्ने महसुस भएपछि आफू राजनीतिमा होमिएको बताउनुभयो। उपमेयरको पद पूर्ण कार्यकारी नभए पनि आफ्नो क्षमताले भ्याएसम्म समुदायको हितमा काम गरिरहेको र टिमवर्कमा विश्वास गर्ने उल्लेख गर्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा उपमेयर डंगोलले आफ्नो काममा सधैं इमान्दारिता र निष्ठा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘मेरो बुबाले सधैं निष्ठावान भएर काम गर्न सिकाउनुभएको छ। सत्यको बाटो कठिन भए पनि म त्यही बाटोमा हिँड्ने प्रयास गर्नेछु,’ उहाँले त्यसो भन्दा सबै भावुक बनेका थिए । उहाँले समुदायबाट निरन्तर रचनात्मक सुझाव, सहयोग र खबरदारीको अपेक्षा राख्दै सबैको साथ र सहकार्यले नै महानगरको विकास र समुदायको उत्थान सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले अवार्डले आफूलाई अझै जिम्मेवार बनाएको बताउँदै नेपालको, नेवा समुदायको, र विशेषगरी ज्यापु समुदायको पहिचानलाई विश्वमा चिनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।