रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, ४९ दिनपछि रिहा

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मिश्रलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरी हिरासतमा राखेको थियो।

आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

रिटमाथिको अन्तिम सुनुवाइपछि अदालतले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी ४९ दिनपछि हिरासतबाट छुटेका हुन्। उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको हो।