मेयर बालेनलाई लेख्न र बोल्न छुट दिने गणतन्त्रप्रतिनै उनको वेवास्ता किन ?

काठमाडौं ५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अपरिपक्क र अल्लारे गतिविधिबाट काठमाडौंबासी हैरान हुनु अनौठो कुरो भएन । हरेक महिना राख्नुपर्ने कार्यपालिका बैठक नराखेर सामाजिक सञ्जालमा नानाभाँती कुरा लेख्दै हिँड्ने मेयर साह कुनै पनि औपचारिक फोरममा देखिनु हुँदैन । उहाँका कहिले परिवारसहित मस्ती गरेका तस्बिर सार्वजनिक हुन्छन् भने कहिले उहाँ पार्टीमा झुमिरहेका पवमा नाचिरहेका तस्बिर पनि सार्वजनिक हुन्छन् । तर, जनप्रतिनिधि साह जनताका विचमा भने कहिल्दै देखिन रुचाउनु हुन्न ।
त्यति मात्रै होइन नेपालमा राजनीतिक दल र जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त भएको लोकतन्त्रप्रति नै झुकाव कम छ । सामाजिक सञ्जालमा त्यहि लोकतन्त्रको सदुपयोग गर्दै नानाभाँती लेख्ने साह गणतन्त्र दिवसका कुनै पनि औचपारिक कार्यक्रममा उपस्थित भएको देखिँदैन । आज पनि गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन भयो ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहने व्यवस्था अनुसार नै समिति पनि गठन भयो । विगतमा पनि त्यस्ता समितिहरुप्रति चासो नराख्ने बालेनको शैलीबाट प्रधानमन्त्री दिक्क बन्दै आउनु भएको थियो । आज प्रधानमन्त्री कार्यालयमा नै भएको बैठकमा काठमाडौं महानगरबाट उपमेयर सुनीता डंगोलले सहभागी हुनुभयो ।
ललितपुरका मेयर चिरिबाबु महर्जन पनि उपस्थित हुनुभयो । तर, मेयर बालेनको कुनै अत्तोपत्तो भएन । यसरी समितिकै वेवास्ता गर्ने साहप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले पनि गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गर्नुभयो । उहाँले त्यति मात्रै भन्नु भएन् यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी) हरु पटक पटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिनुभयो । त्यो भनेको काठमाडौं महानगरपालिकाका मेयर साहप्रति संकेत थियो ।
बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ । यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।