बुद्धको मन पढ्न सकिन्छ अर्हतमा

अनिता कोइराला
साहित्यको संसार बडो रमाइलो छ । यो संसारमा असम्भव केही छैन । समयको सीमा यहाँ छैन । न त भूगोलको नै आवश्यकता छ । आफूले चाहेको युगमा लेखक सजिलै बाँच्न सक्छ । घुम्न सक्छ । इतिहासका रहस्यमयी पात्रहरूसँग संवाद गर्न सक्छ । अद्भूत संसारको भ्रमण गर्न सक्छ । यसै सिलसिला केही दिनदेखि म पनि भगवान् गौतम बुद्धसँग नित्यसंवादमा थिएँ । हो म कुरा गर्दैछु अर्हत् को । शैलेन्द्र अधिकारको शब्दमा बडो आनन्दको जादू रहेछ । म हराएँ बुद्धकालीन समयमा । बुद्धकालीन समाजमा।
बुद्धकालीन राजनीतिमा । यशोधरा, सिद्धार्थ,आनन्द र अरू पात्रहरूसँगसँगै म पनि उही समयमा पुगें । कयौं प्रश्नहरूको उत्तर पाएर दङ्ग परेँ । कैयौं प्रश्नहरू बोकेर फर्किएँ । बुद्धको भूमिमा म पनि जन्मिएँ । शान्तिको धून बुझ्ने कोसिस गर्दैछु नित्य । आप्पो दीपो भवःको मर्मलाई बुझ्ने कोसिस गर्दैछु । शान्ति कति महत्त्वपूर्ण रहेछ भन्ने बोध गर्दैछु । शान्तिका अग्रदूतको जीवन कथा बडो सरल किसिमले बुझिन्छ अर्हत्मा ।
साधारण मान्छेको जीवन कथा जसरी कथानक अगाडि बढेको छ । बुद्धलाई अतिरञ्जित गरिएको छैन कतै पनि यो निकै महत्वपूर्ण लाग्यो । सिद्धार्थ गौतम बुद्ध बन्ने क्रममा भोगेका अनेकौँ घटनाहरू छन् यहाँ । शान्तिको खोजीमा दरबार छोडेका सिद्धार्थको कथा सानैदेखि सुन्दै हुर्किएकी हूँ । अचम्म लाग्थ्यो वाल्यकालमा आखिर त्यो शान्ति र सत्य के रहेछ त ! जसको प्राप्तिका लागि सिद्धार्थले दरबारको आराम छोडेर भिक्षु भएर हिँडे । शान्तिको चाहमा राजसी भोग छोडेर घर घर भिक्षा माग्न राजी भए । बाल मस्तिष्कले बुझ्दैन थियो शान्तिको महतत्व, अर्थ र सत्य । शान्तिको लागि सिद्धार्थले दरबारै किन छोडे त भन्ने कुराले मलाई व्याकुल पार्थ्यो ।
उमेर बढ्दै गएपछि अशान्तिले घेर्न थाल्यो अनि पो थाहा पाउँदै गएँ शान्ति कति शक्तिशाली रहेछ भन्ने। बिस्तारै ममा पनि शान्तिको प्यास बढ्दै गएपछि अझ राम्रोसँग बुझ्न थालेकी छु शान्ति । हो, शान्ति सम्भव छ । मानव जीवनमै शान्ति सम्भव छ भनेर बुद्धले हामीलाई बताएको पनि २५०० वर्ष नाघिसक्यो । परम सत्य जान्न हामीले टाढा जानै पर्दैन । शारीरिक कष्ट भोग्नै पर्दैन । सत्य त मानव जीवनमै प्रकटित छ भनेर बुद्धले अनुबव गरे अनि हामीलाई सम्झाए । तर आजको विश्वलाई हेर्दा आतेस लागेर आउँछ । चारैतिर अशान्तिको बादल मडारिएको छ । भर्खरै यो लेख तयार गर्दा पनि मेरो हृदय रोएको छ । केहीदिन अगाडि कस्मिरको पहलगाममा भएको आतङ्ककारी हमलामा २८ जना निर्दोष व्यक्तिहरूले ज्यान गुमाए । आज सो घटनाको प्रतिशोधमा भारतले पाकिस्तानमाथि हवाई आक्रमण गर्यो । आखिर यो युद्ध कसका विरुद्ध हुँदैछ ।
मान्छे भन्दा ठूलो जात के छ ? मानवताभन्दा ठूलो धर्म के हो र शान्तिको उज्यालो मार्गमा किन मान्छे हिँड्न खोज्दैन । किन शान्तिको सुन्दर आभुषणले शृङ्गारिन खोज्दैन । मैले पनि जीवनको यो उमेरमा आएपछि बुझ्न खोजेकी छु अर्हद् । शान्ति मानवको प्रथम आवश्यकता हो । सम्पूर्ण चराचर जगत शान्ति चाहन्छ । तर चेतनशील प्राणी नै शान्तिको बाधक बन्दैछ । कुनै पनि मूल्यमा हामी शान्ति चाहन्छौँ । शान्तिको विकल्प छैन ।
शान्ति जीवनको परम लक्ष हो । शान्ति मानवको आदिम प्यास हो । शान्ति कुनै प्रस्ताव हैन । शान्ति सम्झौता होइन । शान्ति त उपहार हो विधाताको । शान्ति मनोरञ्जनको साधन पनि हैन । शान्ति त हृदयरञ्जनको मार्ग हो । सुखको सागर हो । जीवनको उद्देश्य हो । परमात्माको उपहार हो । शान्तिको प्यासमा हिजो दरबारभित्र बुद्ध छट्पटिए आज हामी छट्पटिएका छौँ । शान्ति मानव जीवसँगै जोडिएर आएको विषय हो । बुद्धले आखिर आफैँभित्र त्यो शान्ति भेटेर तृप्त भए । सन्तुष्ट भए । शान्तिको सानन्दमा डुबुल्की मारेपछि त्यो ज्ञान फूमा मात्र सीमित राखेनन् । मानव कल्याणको लागि बुद्धले आफ्नो जीवन पर्यन्त लागिरहे ।
अब हामीले पनि बुद्धको शिक्षालाई कुनै पनि हालतमा आफ्नो जीवनमा अपनाउनु पर्ने समय आएको छ । नत्र त अशान्तिको कृष्णविवरमा हामी हराउने निश्चित छ । बुद्धको जीवनसँग सम्बन्धित कथाहरू पढ्दै आएकाले कथाहरू त नौला छैनन् तर शैलेन्द्र अधिकारीको कलापूर्ण लेखेनीले अर्हत् निकै पठनीय बनेको रहेछ । बेग्लै किसिमको मिठास छ शैलेन्द्रको शैलीमा । कथा पस्कने कला निकै लोभलाग्दो छ । घटनाहरूको प्रस्तुति जीवन्त छ । पात्रहरू वाचाल भएर आँखै अगाडि आएका छन् । घटनाहरू दृश्यात्मक छन् । पात्रहरू सकृय छन् । लेखक कतै हावी भएका छैनन् । घटनाहरू पात्रको मुखबाट घटाइएकोले बडो जादूमयी छ संवाद । बुद्धको वाणीबाट बुद्धको हृदय पढ्दा बडो मीठो अनुभूति हुन्छ । पाठक बुद्धकालीन समयमा बुद्ध सँगसँगै सजिलै विचरण गर्न सक्छन् । बुद्धकालीन समाज, समय, सन्दर्भ, घटना र सम्बन्धहरूलाई बुद्धको मुखबाट सुन्न पाउँदा म पाठकलाई पनि बुद्धको निकट छु भन्ने भाव उत्पन्न भयो । मलाई लाग्थ्यो साँच्चै रामराज्य सम्भव छ । कुनै दिन द्वन्द्वरहित, अहंकारहित राज्यव्यवस्था आउला ।
सबैलाई अर्हत् प्राप्त होला । अनि कति सुन्दर होला त्यो संसार । तर जब बुद्धको महापरिनिर्वाणपछि बुद्धकै निकट रहेका भिक्षु भन्दैछ्न् , ‘आबुसो १ तपाईंहरू किन यति धेरै अधैर्य भएर बिलौना गर्दै हुनुहुन्छ ? बिलौना गर्नुपर्ने म कुनै कारण देख्दिनँ । तथागत भएसम्म हामीलाई झन् गाह्रो थियो । उहाँ जहिल्यै यसो गर्नुहुन्छ र हुँदैन भनेर हामीलाई बन्धनमा राखिरहनुहुन्थ्यो । हामी त्यसलाई मान्न विविश थियौं । तर अब हामीलाई त्यसरी आज्ञा दिने उपरान्त कोही छैनन् । अब हामी आफूलाई सजिला लाग्ने नियमहरू मानौंला र गाह्रा लाग्ने नियमहरू नमानौंला । त्यसैले तिमीहरू पनि नरोओ । खासमा हामी खुशी हुनुपर्छ किनकि आज हामी तथागतको बन्धनबाट पनि मुक्त भएका छौँ (पृष्ठ ६ ।। ) । म छ्क्क परेँ । अहो ! के हो बन्धन ? शान्तिको लागि सम्झौता हुँदैन भन्ने सुनेकी थिएँ । शान्ति नै समृद्धि हो भन्ने ठानेकी थिएँ तर यहाँ त शान्तिका अग्रणीको नियम पनि बन्धन बन्दो रहेछ । मान्छे कसैको अधिनमा बस्न सक्दैन रहेछ चाहे शान्तिकै तलासमा ऊ जीवनभर किन नहिँडोस् । मान्छेको जातले आखिर दुष्टता कुनै हालतमा पनि छोड्दैन रहेछ। देवदत्तको कहिल्यै परिवर्तन नहुने बानी देखेर बुद्धले मलाई पृष्ठ १४७ मा सम्झाए, ‘चीवर लगाउँदैमा मात्रै कोही भिक्षु बन्न सक्दैन, प्रव्रज्या र उपसम्पदा ग्रहण गर्दैमा कोही अर्हत् हुँदैन भन्ने कुराको देवदत्त एउटा गजबकै उदाहरण हो (पृष्ठ १४७) ।
‘सत्ता र शासन आफ्नो हातमा लिन जसरी देवदत्त लागि परे त्यो भोगको प्यास प्रायः सबैभित्र रहेको हुन्छ । ज्ञान र विवेकले दर्गुणहरू नामेट हुँदैजान्छन् तर ज्ञान कृत्रिम छ भने अज्ञानको ढोका खुल्लै भएको पत्तै हुँदैन । ज्ञान र शान्ति पनि अरूलाई देखाउने बस्तु हो र ? हाम्रो समाजका केही व्यक्तिहरू त्यो बेला पनि उही आडम्बरको खोल भिरेर हिँडेका थिए भने आज पनि अवस्था उही छ । नत्र त सबै बुद्ध भइ नै हाल्थे नि ! समस्या नै हुनेथिएन । शान्तिको खोजीमा सबै छोडेर हिँडेको मान्छे अझ बुद्धको निकट बसेर साधना गरेको सन्त पनि स्वार्थको जालोमा लपेटिन्छ । वास्तवमा के अर्हद् प्राप्त गर्न सजिलो रहेछ त ? जातीय अहमदेखि सत्ता लोलुप्ताले निम्त्याएका अनेकौं घटनाहरू पढ्दै जाँदा मेरो मन ढुक्क हुँदै गयो । रामराज्य कोरा कल्पना रहेछ । संसार जहिले पनि राक्षसयुगमा नै हिँड्दो रहेछ । जसरी हामीले दिन र रात भोग्छौँ ।
दुःख र सुखको अनुभव गर्छौँ । हाँसो र आँसुलाई सँगै लिएर हिँड्छौँ । पीडा र खुशीको बोध गर्छौँ । सबै किसिमका संवेदनाले हामीलाई घेरेको हुन्छ कुनै एकको अनुस्पस्थितिमा अर्कोको अर्थ अर्थहीन हुने रहेछ । अशान्तिले छोपेपछि मात्र शान्तिको खोजी हुनेरहेछ । के थाहा बुद्धलाई पनि दरबारभित्र आफैले भोगेको जीवनदेखि बिरक्तिएका पो थिएकी ? मलाई लाग्छ व्यक्तिले अर्हत् प्राप्त गर्न सक्छ तर समूह या सम्पूर्ण समाजले अर्हत् प्राप्त गर्न मुस्किल छ । संसारलाई एउटै नियममा बाँधेर राख्न सकिँदैन । नत्र बुद्धकालीन समयमा त्यो किसिमको घटनाहरू घट्न थिएनन् । बुद्धलाई बद्नाम गर्न रचियका घटनादेखि सत्ता आफ्नो हातमा लिन गरिएका षड्यन्त्रहरू हुनेथिएनन् । अनि बुद्धको आफ्नै वंशको त्यो किसिमले नाश हुनेथिएन ।
अर्कोतिर बिम्बिसारको जीवन संघर्ष पढ्दा छक्क लाग्छ । अजात शत्रुले बिम्बिसारप्रति गरेको व्यवहार कति कठोर र घिनलाग्दो । सोही वंशमा छोराहरूले आफ्नै जन्मदाताहरुप्रति गरेको त्यो निकृष्ट व्यवहार कति ओलोच्य । बुद्धको निकट भएर पनि अहँ शान्ति भेट्न नसक्ने रहेछ मान्छे । अजातशत्रुको वंशमा हत्याको शृङ्खला निकै लामो समयसम्म चलिरह्यो । बुद्धप्रतिको आस्था र प्रेम कति उच्च छ । तर पनि नियति त भोग्नै पर्यो। ज्ञान प्राप्त गर्नु भनेको सबै कुराले परिपूर्ण हुनु पनि होइन रहेछ ।संसारको दुःख सुख त भोग्नै पर्छ जसरी बिम्बिसारले भोगे । ज्ञान प्राप्त गरेपछि संसारिक जीवनमा जादू हुन्छ ।सबै कुरा सजिलै मिल्छ भन्ने सोच राख्नेले पढ्नै पर्छ बुद्धका संघर्षका कथाहरू । स्वयं कपिलवस्तुको पतनको इतिहास बुद्धको मुखबाट सुन्दा म यथार्थको धरातलमा उभिने प्रयास गर्न थालेकी छु । साँच्चै रामराज्य पनि साहित्यमा मात्र सीमित रहेछ । हत्याहिंसा, लोभ, लालच, मायामोह, मानसम्मान, पद प्रतिष्ठा आखिर यो मान्छेको अस्तित्व रहुन्जेल नै रहने रहेछ ।
बुद्धको निकट बसेर पनि वास्तवमा बिरलैले अर्हत् प्राप्त गर्न सक्छन् । हरेक युगमा ज्ञान देखाउने बस्तु बनेको छ । सिद्धार्थ ज्ञानको खोजीमा दरबार छोडेर बाहिर हिँड्छ्न् तब बाटैमा संन्यासी घटिकारसँग भेट हुन्छ । घटिकारलाई देखेर बुद्धले भन्छ्न् । म यो सांसारिक भोग र भोकको जीवनबाट वाक्क भएर ज्ञानको खोजीमा दरबार छोडेर सन्यासी बनू्ँ भनेर हिँडेको । यहाँ पहिरनको समस्या पर्यो । कृपा गरेर मेरो मूल्यवान वस्त्र लिनुहोस् र तपाईंको काषाय वस्त्र मलाई दिनुहोस् (पृष्ठ ५१) । ती सन्यासी सिद्धार्थको बहुमूल्य वस्त्र देखेर लोभिन्छ्न् । सन्यासीको मोह देखेर लाग्यो अर्हत् प्राप्त गर्नु सजिलो कुरा हैन । ती काषाय वस्त्रधारी व्यक्ति सिद्धार्थको राजशी वस्त्र लगाउन लालायित हुन्छ । यता सिद्धार्थ काषाय वस्त्र । ज्ञानको प्यास अमूल्य छ ।
जो कोहीले त्यो प्यास उत्पन्न गर्न सक्दैन । जसले साँचो प्यास उत्पन्न गर्छ त्यसलाई रोक्न पनि सकिँदैन ऊ दरबार छोडेर हिँड्छ जङ्गल जङ्गल । मेटाउँछ अनन्त जीवनदेखिको ज्ञानको प्यास । यहाँ यो प्रसङ्गले निकै गहिरो अर्थ समेटेको लाग्यो । कतै बुद्धलाई बदनाम गर्न रचियका घटिया षड्यन्त्रहरू पढ्दा मान्छेको चरित्र बुद्धको काखैमा बसेर पनि समुल नष्ट नहुने रहेछ भन्ने लाग्यो । आम्रपालीको जीवन यात्रा कति विशृङ्खलित छ । आम्रपालीको विचार कति महान । शरीरभन्दा कता हो कता उच्च र पवित्र हुने रहेछ भावना र भक्ति। इच्छाशक्तिभन्दा ठूलो अस्त्र केही छैन । मान्छेले दृढ संकल्प गरे असम्भव केही छैन ।
अर्हत् पढ्दै जाँदा विभिन्न पात्रहरूको जीवनका कथाहरू पढ्न पाइन्छ । तिनैमा अजातशत्रु, अङ्गुलीमालको जीवन पढ्दा मानव जीवनका अनेकौं आयामहरूसँग साक्षात्कार हुन सकिन्छ । जीवनको परिभाषा पूर्ण छैन् ।
मान्छेले जे भोग्छ त्यो नै अन्तिम सत्य होइन । मान्छेले असल सङ्गत प्राप्त गर्यो भने जे पनि हुन सक्छ । सम्भावनाको ढोका जहिले पनि खुल्लै हुने रहेछ । अन्त्यमा मलाई बुद्धले दरबारभित्र बिदाएका ती २९ वर्षे जीवन पढ्न मन लाग्यो । सिद्धार्थले दरबार छोड्दा यशोधराको मौन सहमतीको रहस्य के होला भन्ने तर्कमा कतै बुद्धभन्दा अगाडि नै यसोधराले अर्हत् प्राप्त गरेकी त हैनन भन्ने शङ्का पनि उठ्यो । सिद्धार्थले दरबार छोड्नुको रहस्य अरू नै पो केही हो कि भन्ने प्रश्नले पनि मलाई कौतुहल बनाइरह्यो । अर्हत् पढिसकेपछि ममा यस्तो वाञ्छा जागृत भयो आखिर सिद्धार्थलाई कतै दरबारभित्रको आफ्नै जीवन भोगाइले त बुद्ध बनाएको होइन ।