देउवाको नाममा राजसंस्थाबारे प्रकाशित समाचारको कांग्रेसद्वारा खण्डन

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नाममा राजसंस्था पुनर्स्थापनासम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गरेको छ।
आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सभापति देउवाले कहीँ कतै राजसंस्थाबारे अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ। “सभापति देउवाले राजसंस्थाबारे कहीँकतै नबोलेको, नभनेको र नसोचेको विषयमा कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “क्षणिक स्वार्थका लागि सभापतिको नाम जोडी गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र आपत्तिजनक छ।”
यस्ता भ्रामक समाचारले पत्रकारिताको मर्म र भावना विपरीत कार्य भएको कांग्रेसको ठहर छ। साथै, यस्ता कपोलकल्पित समाचारको भ्रामक प्रचारप्रति निन्दा र भत्सर्ना गर्दै कांग्रेसले जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा आम नागरिकलाई यस प्रकारका भ्रामक समाचारप्रति विश्वास नगर्न आग्रह गरिएको छ।