निर्माणाधीन तामाकोसी पुलको स्पान भाँचियो

मन्थली, ८ असार । रामेछापको सदरमुकाम मन्थलीस्थित तामाकोसी नदीमा निर्माणाधीन पक्की पुलको एउटा स्पान भाँचिएको छ । मन्थली नगरपालिकाको वडा नं ६ र ७ लाई जोड्ने उक्त पुलको मर्मत भइरहेको स्पान आज दिउँसो पूर्ण रूपमा भत्किएको हो ।

दुई महिनाअघि पनि सोही स्पानमा क्षति पुगेको थियो । प्राविधिक प्रतिवेदनले मर्मत गरेर प्रयोग गर्न सकिने सुझाएपछि निर्माण कम्पनीले मर्मतको काम अघि बढाएको थियो । मर्मतकै क्रममा उक्त स्पान पूर्ण रूपमा भाँचिएर नदीमा खसेको स्थानीयले बताएका छन् ।

आगामी भदौ मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त पुल भाँचिएपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् । सदरमुकाम मन्थलीलाई जिल्लाका तीनवटा पालिका जोड्ने तथा काठमाडौँका लागि वैकल्पिक मार्गका रूपमा यो पुललाई महत्त्वपूर्ण मानिएको थियो ।

सडक विभागले आर्थिक वर्ष २०७७/७८ मा रु. २२ करोड ५५ लाखमा ठेक्का लगाएको २३० मिटर लामो यो पुलको ६० प्रतिशतभन्दा बढी भुक्तानी भइसकेको छ । पटक-पटक पुलको संरचना भत्किएपछि यसको गुणस्तरमाथि प्रश्न उठेको छ ।