नेपाल एसिसी मेन्स यु१६ इस्ट जोन कप च्याम्पियन

काठमाडौँ, असार २१ गते । नेपालले एसिसी मेन्स यु१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि रक्षा गरेको छ । नेपाल शनिबार भएको फाइनलमा सिङगापुरलाई कठिनरुपमा दुई विकेटले हरायो । नेपाल अपराजित रहेर च्याम्पियन बनेको हो । सन् २०२३ मा भएको पछिल्लो संस्करणमा नेपालले मलेसियालाई २२१ रनले हराएर उपाधि जितेको थियो ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिङगापर ४०.५ ओभरमा ११३ रनमै अलआउट भएको थियो । नेपालले सहजै लक्ष्य हासिल गर्न भने सकेन । नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा ११७ रन बनाएर जित प्राप्त गर्यो । समूह चरणमा सँगै रहेका नेपालले यसअघि सिङगापुरलाई छ विकेटले हराएको थियो ।

सिङगापुरका लागि प्रारम्भिक ब्याट्सम्यान रोहन अस्टिनले ८४ बलको सामना गरेर सर्वाधिक २३ रन बनाए । यसैगरी एघारौँ नम्बरका ब्याट्सम्यान वेदान्स गुप्ता १२ रनमा अविजित रहे भने दशौँ क्रमका दआकास तेजाले १० रन बनाए । नेपालका लागसुशील बहादुर रावल र अभय यादवले तीन–तीन, शुभम खनालले दुई तथा कप्तान विपिन प्रसाद शर्माले एक विकेट लिएर सिङगापुरको पालि धराशायी बनाएका हुन् । विपिनले मात्र दस ओभरमा १४ रन दिएर किफायती बलिङ गरेका थिए ।

नेपालले लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुआत गरेको थियो । प्रारम्भिक ब्याट्सम्यान परिमार्जन यादवले आफ्नो स्वभाव अनुसार तेज गतिमा खेले । यद्यपि परिमार्जन तीन चौकासहत नौ बलमा १३ रन बनापछि कपिस वेंकटरामनको बलिङमा कट एन्ड बोल्ड भए । त्यसपछि प्रसिद्ध जैसीले शिवांश बजगाईँसँग मिलेर दोस्रो विकेटका लागि २३ बलमा २७ रनको साझेदारी गरेपछि नेपालले चाँडै खेल सकाउने छाँट देखिएको थियो । यद्यपि कपिसले शिवांस र रौनक श्रीवास्तव (०)लाई लगातार बलमा आउट गरेर सिङगापुरलाई खेलमा फर्काए । शिवांश १३ बलमा २० रनमा आउट भए । त्यसपछि कूल ५८ रनमा प्रसिद्ध र सुगम बुढाथोकी पनि पभेलियन फर्केपछि नेपालको थिति ५८ रनमा पाँच विकेट भएको थियो ।

त्यसपछि शुभम खनाल (१८ रन), सचिन भट्ट (१ रन) र विपिन ०) मा आउट हुँदा नेपाल फाइनलमा स्तब्ध हुने संकेत पनि देखियो । तर जोय थापा र अभय यादवले अविजित रहँदै क्रमश २४ र १० रन बनाएर नेपाललाई च्याम्यिन बनाए । जोय थापाले धैर्यपूवक ब्याटिङ गर्दै ५३ बलको सामना गरी तीन चौका प्रहार गरे । अभयले छक्का प्रहार गरी खेल समाप्त पारे ।
सिङगापुरका लागि कपिसले चार, युवान पाण्डेले दुई तथा भेन्डास गुप्ता र आकाश तेजाले एक–एक विकेट लिए ।