एसियन कप खेल्ने नेपालको सपना चकनाचूर

काठमाडौँ, २१ असार । कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक हुँदाहुँदै पनि नेपाल एएफसी एसियन कपमा चयन हुन असफल भएको छ । एएफसी महिला एसियन कप छनोट अन्र्तगत समूह एफको अनितम खेलमा दस खेलाडीमा सीमित उज्बेकिस्तानसँग टाइब्रेकरमा ४–२ ले हारेपछि नेपालको एसियन कप खेल्ने सपना चकनाचुर भयो । सावित्राले लगातार तेस्रो खेलमा ह्याट्रिक गरे पनि नेपालले निर्णायक खेल जित्न सकेन ।

उज्बेकिस्तानको तासकन्दस्थित बुनयोदकोर रङगशालामा एसियन कप छनोटअन्तर्गत नेपाल र उज्बेकिस्तानबिचको खेलमा निर्धारीत समय ३–३ ले बराबरीमा सकिएको थियो । समूह एफको अन्तिम खेल फाइनल सरहनै थियो । लाओस र श्रीलङ्का पनि सामेल यस समूहमा दुवै टिमले सुरुका दुई खेल जितेर छ–छ अङ्क बनाएका थिए । दुवैको गोलअन्तर पनि समान थियो । त्यसैले बराबरीपछि सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एसियन महिला कपमा खेल्ने टिमको छिनोफानो पेनाल्टी सुटआउटमा भयो ।

नेपालकी सावित्रा र गोलकिपर अन्जना राना मगरले टाइब्रेकरमा गोल गर्न सकेनन् । सावित्राले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो । अन्जनाले पेनाल्टीमा प्रहार गरेको बल उज्बेकिस्तानकी गोलकिपर माफ्तुना जोनिकुलोभाले बचाइन् । गीता राना र सविना राना मगरले मात्र गोल गरे उज्बेकिस्तानका लागि पेनाल्टी सुटआउटमा शोएमोभा, जोइरोभा, सिक्माटोभा र अमिनजोनोभाको पेनाल्टी प्रहार सफल भएको थियो ।

खेलको दोस्रो मिनेटमै खाबिबुलुएभा डियोराखोनले पहिलो बारमा बल छिराउँदै गोल गरेपछि नेपाल स्तब्ध बनेको थियो । नेपालले ११ औँ मिनेटमा दोस्रो गोल पनि वेहोर्यो । उज्बेकिस्तानकी कप्तान लुडिमिला काराचिकले प्रहार गरेको बल नेपालकी डिफेन्डर समिक्षा घिमिरेलाई लागेर गोल भएपछि उज्बेकिस्तान दुई गोलले अगाडि भएको हो ।

खेलको २४ औँ मिनेटमा कप्तान सावित्राले रश्मि घिसिङको पासमा डिबक्सबाहिरबाट गोल गरेर अन्तर कम पार्नुभयो । खेलको ३९ औँ मिनेटमा शोएमोभाले पेनाल्टीमा गोल गरेपछि नेपाल फेरि दुई गोलले पछाडि पर्यो । सरस्वती हमालले डिबक्सभित्र बललाई हातले छोएपछि रेफ्रीले उज्बेकिस्तानलाई पेनाल्टी दिएको हो ।

पूर्वाद्र्धको इन्जुरी समयमा उज्बेकिस्तानका एन एर्गासेभाले रातो कार्ड पाएपछि नेपाललाई खेलमा फर्किने मौका मिल्यो । खेलको ७१ औँ मिनेटमा सावित्राले नै गोल गरी स्कोर ३–२ मा ल्याइन् । सावित्राको प्रहार उज्बेकिस्तानको डिफेन्डरलाई लाग्दै गोल भएको थियो । ७३ औँ मिनेटमा सावित्राले ह्याट्रिक पूरा गरी खेल ३–३ बनाइन् । तर त्यसपछि टाइब्रेकरमा नेपाल हिस्स भयो ।