सउदी अरबविरुद्ध नेपालको कठिन जित
काठमाडौँ, २३ जेठ । एएफसी महिला यु–२० एसियन कप छनोटमा नेपालले पहिलो जित हात पारेको छ । निर्धारीत समयको अन्तिम मिनेटमा सुक्रिया मियाले गोल गरेपछि नेपालले शुक्रबार सउदी अरबलाई १–० ले हरायो । नेपाल पहिलो खेलमा घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको थियो । यसैगरी सउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० ले हार वेहोरेको थियो ।
भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालाम भएको खेलको ९० औँ मिनेटमा मिन देउवाको पासमा डिबक्समा विना निगरानीमा रहेकी सुक्रियले गोल गरी नेपाललाई जित दिलाइन् ।
मध्यान्तरमा नेपाल दुई पटक अभागी सावित भएको थियो । खेलको १८ औँ मिनेटमा सरिता कुमारीले फ्रिकिकमा प्रहार गरेको बल पनि गोलपोस्टमा लागेर फर्किएको थियो । खेलको ३७ औँ मिनेटमा पनि नेपालसमक्ष अग्रता बनाउने अवसर थियो । डिबक्समा मिडफिल्डर मनिषा सेनलाई लडाइएपछि नेपालले पेनाल्टी पाएको थियो । तर मिना देउबाको पेनाल्टी प्रहार गोलपोटमा लागेर फर्कियो ।
नेपालले अब अन्तिम खेल च्याम्पियन उत्तर कोरियासँग खेल्नेछ ।