सुरक्षित खानेपानीमा पहुँच बढाउँदै ग्रामीण विकास

खोक्सिकमा ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा

काठमाडौँ, असोज १७ । भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा सञ्चालित ‘एक घर एक धारा’ अभियान अब अन्तिम चरणमा पुगेको छ । यस अभियानले स्थानीय बासिन्दालाई स्वच्छ खानेपानीको सहज पहुँच दिलाउने लक्ष्य राखेको छ । वडा कार्यालयले करिब १५ लाख रुपियाँ बजेट विनियोजन गरी पुराना खानेपानीका मुहान मर्मत र नयाँ योजना सञ्चालन गरेपछि स्थानीयले घन्टौँ लगाएर पानी जोहो गर्नुपर्ने समस्याबाट मुक्ति पाएका छन् । अब प्रत्येक घरमा धारा जडान भएसँगै उनीहरूको दैनिकी सहज बनेको छ ।

वडाध्यक्ष बाचकुमार राईका अनुसार खोक्सिक क्षेत्रमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि भइरहेको यो काम लगभग सकिएको छ। दशकौँ पुराना खानेपानीका ट्याङ्की मर्मत गरिएकाले स्थानीयको खानेपानी समस्या हटेको उहाँले बताउनुभयो। वडाध्यक्ष राईले ३०-३२ वर्ष पुराना खानेपानी योजनामा देखिएका समस्या समाधान गरी स्थानीयलाई सहज रूपमा पानी वितरणका लागि संरक्षणको काम गरिएको जानकारी दिनुभयो ।

“हामीले जीर्ण खानेपानी आयोजनाको पनि मर्मतसम्भार गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “विगतका योजना धेरै पुराना भएकाले पानी वितरणमा समस्या थियो । अहिले स्थानीयलाई सहज रूपमा पानी खाने वातावरण बनाउने संरक्षणका काम गरेका छौँ ।”

खोक्सिक सुक्खाग्रस्त क्षेत्र भएकाले वडाले खानेपानी, विद्युत् र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । साथै, पुराना पानी ट्याङ्कीको मर्मत तथा नयाँ खानेपानीका मुहानको खोजीलाई पनि निरन्तरता दिइएको वडा कार्यालयले बताएको छ ।