मौसम अपडेट

२० वटा जिल्ला बाढीको उच्च जोखिममा

काठमाडौँ, असोज १८ । जल तथा मौसम विज्ञान विभागले देशका २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको जानकारी दिएको छ । हाल काठमाडौं उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । विशेषगरी, मधेस प्रदेशमा भारी वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकामा पनि वर्षाको तीव्रता बढ्दै गएको विभागले जनाएको छ ।

बाढीको अति उच्च जोखिममा रहेका जिल्लाहरू

शनिबारका लागि सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरू बाढीको अति उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

उच्च जोखिमको सम्भावना रहेका जिल्लाहरू

त्यस्तै, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु र आसपासका जिल्लाहरूमा उच्च जोखिमको सम्भावना रहेको महाशाखाले बताएको छ।

मध्यम जोखिम र सतर्कताको आग्रह

यसैगरी, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्यूठान, दाङ, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

जनतालाई सावधानी अपनाउन अनुरोध

विभागले सबै सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र मौसम तथा बाढीसम्बन्धी ताजा जानकारीका लागि सरकारी सूचनाहरू पालना गर्न अनुरोध गरेको छ।