सुनसरीमा वर्षा र हुण्डरीले केराखेतीमा ठूलो क्षति
काठमाडौँ, असोज २१ । गत शनिबार र आइतबार आएको अविरल वर्षासँगैको हावाहुण्डरीले सुनसरीका विभिन्न स्थानमा लगाइएको केराखेतीमा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम इनरुवा, भोक्राहा, हरिनगर लगायतका क्षेत्रमा केराखेतीमा व्यापक क्षति भएको हो । आठ वर्षदेखि केराखेती गर्दै आउनुभएका भोक्राहा नरसिंह गाउँपालिका–२ का एयुब साहमियाँले बैंकबाट ६ लाख रुपियाँ ऋण लिएर सात बिघा जग्गा भाडामा केराखेती गर्नुभएको थियो । उहाँको तीन बिघा एक कट्ठाको केराखेतीमा क्षति पुगेको छ। साहमियाँका अनुसार करिब १३ लाख रुपियाँ भन्दा बढीको क्षति भएको छ । उहाँले वर्षेनी बाढीका कारण केराखेतीमा १० लाख रुपियाँदेखि २५ लाख रुपियाँसम्मको क्षति हुने गरेको बताउनुभयो ।
त्यस्तै, स्थानीय वीरेन्द्र ठाकुरले एक लाख रुपियाँ लगानी गरी सात कट्ठामा लगाएको केराखेतीमा पनि ठूलो क्षति पुगेको किसानहरूले जानकारी दिनुभयो । जिल्लाभरका व्यावसायिक केरा उत्पादक किसानहरूले प्राकृतिक विपद्का कारण ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको छ।
कृषि ज्ञानकेन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहका अनुसार यस वर्ष जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको प्रमुख सिंहले बताउनुभयो ।