कार्तिक स्नान, आकाशदीप दान प्रारम्भ
काठमाडौँ, असोज २१ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुने एक महिने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजा आराधना आजदेखि विधिवत् रूपमा सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म गरिने कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना र आकाशदीपदानले सौभाग्य, सम्पत्ति तथा श्रेय प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । आकाशदीपदानका लागि सम्भव भएसम्म बाँसको लिङ्गोमा र नभए पलाँस, खएर, पीपल आदिको लिङ्गो ठड्याएर दीप बालिन्छ । यो दीप भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । कार्तिक स्नान बिहान सूर्योदयअघि गरिन्छ भने आकाशदीप दान साँझमा गर्ने प्रचलन छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेष रूपमा तुलसीको पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरेमा महापातकबाट समेत मुक्ति पाइने धार्मिक विश्वास छ । कार्तिक स्नान गर्ने व्यक्तिले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता रहेको छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दान पनि गरिएको छ ।
आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको थियो । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना सुरु गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।