गाजा वृत्तचित्रमा ‘भ्रामक’ तथ्य, बीबीसीद्वारा माफी र प्रतिबन्ध स्वीकार
काठमाडौँ, असोज ३१ । बेलायतको सञ्चार नियामक निकाय अफकमले गाजाबारे बीबीसीले बनाएको एक वृत्तचित्रको प्रसारणमा प्रतिबन्ध लगाएको छ। वृत्तचित्रमा ‘भ्रामक’ तथ्यहरू समावेश गरिएको र यसका बाल कथाकार हमासका पूर्व कृषि उपमन्त्रीका छोरा भएको खुलासा भएपछि यो कदम चालिएको हो । यस वर्षको सुरुमा बीबीसीले प्रसारण गरेको ‘गाजा: हाउ टु सर्भाइभ अ वारजोन’ नामक वृत्तचित्र निर्माणमा ‘गम्भीर त्रुटिहरू’ भएको स्वीकार गर्दै बीबीसीले माफी मागेको छ र उक्त वृत्तचित्रलाई आफ्ना सबै प्लेटफर्मबाट हटाएको जनाएको छ। बीबीसीले यी ‘अस्वीकार्य’ त्रुटिहरूको लागि बेलायती निर्माण कम्पनी होयो फिल्म्सलाई पनि दोषी ठहराएको छ ।
अफकमले भनेको छ, “यो कार्यक्रमले बेलायती प्रसारण कानुनको गम्भीर उल्लङ्घन गरेको छ किनभने यसले इजरायल-गाजा द्वन्द्वबारे बीबीसीको तथ्यपरक कार्यक्रमहरूमा दर्शकहरूले अपेक्षा गर्ने उच्च स्तरको विश्वासलाई कमजोर पारेको छ ।” नियामकले बीबीसीजस्ता सार्वजनिक सेवा प्रसारकको हकमा यो विशेष गरी महत्त्वपूर्ण भएको पनि जोड दिएको छ । बीबीसीले अफकमको निर्णयलाई स्वीकार गर्दै भनेको छ, “हामीले यसका लागि माफी मागेका छौं र अफकमको निर्णयलाई पूर्ण रूपमा स्वीकार गर्दछौं ।” कम्पनीले थप भनेको छ, “मिति र शब्दावलीको टुङ्गो लागेपछि हामी प्रतिबन्धको पालना गर्नेछौं ।”
गत फेब्रुअरी १७ मा पहिलो पटक प्रसारण भएको उक्त वृत्तचित्रमा प्रयोग गरिएका व्यक्तिहरूको हमासका पूर्व मन्त्रीसँगको सम्बन्धको खुलासा गर्न असफल भएको थियो । अफकमको निर्णयपछि बीबीसीले यस विषयमा थप प्रसारण गर्नुपर्नेछ ।