महानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा सुधार गर्न यक्ष प्रयत्न गरिरहेको उपप्रमुख डंगोलको भनाइ
काठमाडौँ, कार्तिक २८ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयहरूको शैक्षिक सिकाइ गुणस्तर र नतिजा सुधारका लागि ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम एक महत्वपूर्ण औजार बनेको बताउनुभएको छ । रानीदेवी माध्यमिक विद्यालयमा कार्यक्रमको निरीक्षण गर्दै उपप्रमुख डंगोलले यसको सञ्चालन र मूल्याङ्कन प्रणालीको प्रभावकारितामा आफ्नो विशेष ध्यान रहेको उल्लेख गर्नुभयो ।
उपप्रमुख डंगोलले विद्यार्थीहरूमा सिकाइप्रतिको उत्सुकता र कार्यक्रममा उत्साहजनक सहभागिता देखेर आफू प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार, “हरेक बालबालिकाका अनुहारमा सिकाइप्रतिको उत्सुकता देखियो । शिक्षकले प्रदान गरेको लक्ष्यमा एकत्रित भेटिए । सबै कार्यक्रममा सहभागी भएका कारण कसैको अनुहारमा पनि खिन्नता देखिएन । वास्तवमा हामीले शिक्षण पद्धतिमा चाहेको पक्ष पनि यही हो ।” उहाँले कक्षामा सिकेको सीपबाट सिर्जित विद्यार्थीको गुण, दैनिक आचरण, र घरपरिवार तथा समाजमा यसको सकारात्मक प्रभाव महसुस भएपछि अभिभावकहरूमा पनि सन्तुष्टि बढेको बताउनुभयो ।
डंगोलले विद्यार्थीहरूको मूल्याङ्कन शैक्षिक प्रमाणपत्रमा मात्र सीमित नभई बाल आचरणसँग सम्बन्धित सामाजिक पक्ष, मानसिक अवस्था, व्यवहारिक ज्ञान, सीप तथा क्षमतामा पनि हुनुपर्ने धारणा राख्नुभयो। वडा नम्बर ३ का अध्यक्ष एवं महानगरपालिकाको विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले पनि दैनिक जीवनमा आइपर्ने समस्या समाधानका लागि कक्षामा सिकेको सीप प्रयोग हुन थालेकोमा जोड दिनुभयो ।
महानगरपालिकाले सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २०८० सालमा ‘बुक फ्री फ्राइडे’ अर्थात् पुस्तकरहित शुक्रबार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस दिन विद्यार्थीहरूले आफ्नो रुचिका क्षेत्र र व्यवहारिक अभ्यासहरू भेट्टाउन थालेकाले उनीहरू विद्यालय आउन थप प्रोत्साहित भएको निमित्त शिक्षा अधिकारी केशवप्रसाद ज्ञवालीले बताउनुभयो। यस कार्यक्रमले किताव घोकाएर पढ्ने परम्परागत विधिबाट विद्यार्थीहरूलाई बाहिर ल्याएको र सिकाइ उपलब्धिलाई ग्रेडमा भन्दा सीपमा मापन गर्ने प्रणाली विकास हुँदै गएको विद्यालयका प्रधानाध्यापक नारायण गौत्तमले जानकारी दिनुभयो ।
‘पुस्तकरहित शुक्रबार’ का कार्यक्रमहरू कक्षा १ देखि ३ सम्म: ‘एकीकृत सिकाइ’ कक्षा ४ देखि ८ सम्म: २५ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’, कक्षा ९ र १० का लागि: १० विधामा ‘शिक्षामा सीप’ कार्यक्रम हुन् ।
महानगरपालिकाले ‘पुस्तकरहित शुक्रबार’ का कार्यक्रमसँगै शिक्षकहरूको क्षमता विकास र वृत्ति विकासका लागि ‘टिचर्स कलेज’ कार्यक्रम, डाउन सिन्ड्रोम र अटिजमजस्ता विशेष क्षमता भएका बालबालिकाहरूका लागि विशेष क्षमता सहयोगी सहजकर्ता परिचालन गर्ने जस्ता कार्यक्रमहरू पनि सञ्चालन गरेको छ ।
प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ अनुसार, महानगरपालिकाले ४ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास, ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास, र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई समेतको अवधारणा अनुरुप बालमैत्री शिक्षा कार्यान्वयन गरिरहेको छ ।
शैक्षिक नतिजालाई सैद्धान्तिक पद्धतिमा भन्दा व्यवहारिक र प्रयोगात्मक बनाउन ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ (गौरव योजना), विद्यालयको वातावरणीय सुधार र सरसफाइका लागि ‘हरित विद्यालय’ स्वर्णिम योजना, तथा विद्यालय स्तरबाटै खेलप्रति रुचि जगाउन ‘रचनात्मक विद्यालय’ कार्यक्रमहरू सञ्चालित छन् ।
हाल महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन्, जसमध्ये ३ वटा कारागारभित्र, ४ वटा विशेष विद्यालय, एउटा रात्री विद्यालय, र एउटा संस्कृत विद्यालय रहेका छन् । यसबाहेक १० वटा धार्मिक र वैकल्पिक विद्यालय, ५२४ वटा संस्थागत विद्यालय र २८ वटा सामुदायिक सिकाइ केन्द्रहरू छन् ।