अख्तियार दुरुपयोग

नापी सर्वेक्षक र सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, मंसिर २७ । जग्गा सम्बन्धी काम गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय पर्साका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध बुधबार काठमाडौँस्थित विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

वीरगञ्ज महानगरपालिका-२५ मा रहेको ६४ वर्गमिटर क्षेत्रफलको ‘छुट जग्गा’ दर्ता प्रक्रियामा सहजीकरण गरिदिने भन्दै उनीहरूले सेवाग्राहीसँग रकम माग गरेका थिए । सोही सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले गत मंसिर २ गते दुवै जनालाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको थियो । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार, अनुसन्धानका क्रममा सर्वेक्षक राउत र सहयोगी उपाध्यायको मिलेमतोमा नै घुस लिएको पुष्टि भएको छ ।

आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गरेको छ। सोही ऐन अनुसार १ लाख रुपैयाँ बिगो कायम गरी, बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबीसहित अदालतमा आरोपपत्र पेस गरिएको आयोगले जनाएको छ ।