बेलौरीका २९ अतिविपन्न परिवारलाई सुरक्षित आवास हस्तान्तरण
काठमाडौँ, पुस २६ । कञ्चनपुरको बेलौरी नगरपालिकाका विभिन्न वडाका २९ अतिविपन्न परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिएको छ । नगरपालिका, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको त्रिपक्षीय लागत साझेदारीमा ती आवासहरू निर्माण गरिएका हुन् ।
परियोजना अन्तर्गत बेलौरी नगरपालिका–५ मा १४, वडा नं ६ मा ५, वडा नं ७ मा ५ र वडा नं ८ मा ५ वटा घर निर्माण गरिएका छन् । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीका अनुसार प्रतिघर ५ लाख रुपैयाँ लागत लागेकोमा नगरपालिकाले ५० प्रतिशत र ह्याबिट्याट तथा निड्स नेपालले ५० प्रतिशत योगदान गरेका छन् । नगरप्रमुख पोतीलाल चौधरीले विपन्न नागरिकको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।