रामेछाप बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जनाको उपचार हुँदै
रामेछाप, २७ माघ । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको मचानेटारमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । तामाकोशी नदीमा खसेको बसबाट उद्धार गरिएका १३ जनामध्ये ५ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएका ५ जनाको उपचारकै क्रममा निधन भएको हो । दुर्घटनामा घाइते भएका अन्य ८ जनामध्ये ७ जनाको खुर्कोट र १ जनाको मन्थलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।
मंगलबार बिहान काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको प्रदेश ०३-०१-००५ ख ९९७५ नम्बरको बस सडकबाट तामाकोशी नदीमा खसेको थियो ।
अरनिको यातायात समितिका अनुसार उक्त बसले काठमाडौंको जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुको टिकट काटेको थियो । बसमा चालक, सहचालक र एक व्यवसायीसहित सुरुमा ११ जना सवार रहेको तथ्यांक भए पनि बाटोबाट अन्य यात्रुहरू समेत चढेको हुनसक्ने अनुमान गरिएको छ ।
बस नदीमा पूर्ण रूपमा डुबेकाले थप यात्रुहरू हराइरहेको हुनसक्ने आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको छ । दुर्घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ ।