रामेछापमा बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु, ८ घाइते

रामेछाप, २७ माघ । रामेछापको सदरमुकाम मन्थली नजिकै मंगलबार भएको बस दुर्घटनामा परी ९ जनाको ज्यान गएको छ । काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको अरनिको यातायातको बस दुर्घटना हुँदा अन्य ८ जना घाइते भएका छन् ।

मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस अनियन्त्रित भई करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका छन् । नदीमा डुबेको बसबाट सुरक्षाकर्मी र स्थानीयको सहयोगमा यात्रुहरूको उद्धार गरिएको थियो ।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि मन्थलीका विभिन्न अस्पतालहरूमा पठाइएको डीएसपी भट्टले जानकारी दिनुभयो । कतिपय घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटनास्थलमा अहिले पनि प्रहरी टोली खटिएको छ र दुर्घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ ।