महाशिवरात्रि पर्व २०८२ का लागि गुठी संस्थानको अन्तिम तयारी : साधुसन्तको सेवा र व्यवस्थापनलाई प्राथमिकता

काठमाडौँ, माघ २७ । गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्व (२०८२) लाई परम्पराअनुसार सभ्य र भव्य रूपमा मनाउन पाँच दिने विशेष कार्यक्रमसहितको अन्तिम तयारी पूरा गरेको छ ।

संस्थानद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जनक पोखरेलले आगामी फागुन १ देखि ५ गतेसम्म पशुपतिनाथ मन्दिर र देशका विभिन्न शिवालयहरूमा साधुसन्तका लागि भोजन, आवास, धुनी जगाउने दाउरा र दक्षिणाको व्यवस्थापन मिलाइएको जानकारी दिनुभयो । पशुपति क्षेत्र तथा थापाथलीका विभिन्न अखडाहरूमा संस्थानको काठमाडौँ शाखाले आवश्यक प्रबन्ध मिलाउने उहाँले बताउनुभयो ।

पाँच दिने कार्यतालिका

  • फागुन १ गते: राष्ट्रप्रमुखका तर्फबाट साधुसन्तलाई अर्पण गरिने २१ प्रकारका सामग्री (राडी, च्यादर, कमण्डलु, रुद्राक्ष माला, खाद्यान्न आदि) सङ्कल्पका लागि राष्ट्रपति कार्यालय लगिनेछ ।

  • फागुन २ गते: मन्दिर परिसर तथा थापाथलीका वैरागी, उदासी, सन्यासी र गोरखनाथ लगायतका विभिन्न अखडाहरूमा रहेका साधुसन्तका लागि भोजन र धुनीका लागि दाउराको व्यवस्था गरिनेछ ।

  • फागुन ३ गते (महाशिवरात्रि): मुख्य दिन पशुपतिनाथमा पञ्चामृतसहित पूजा सामग्री अर्पण गरिनेछ भने साँझ मन्दिर वरपर दीप प्रज्वलन गरिनेछ । सो दिन साधुसन्तलाई दही, फलफूल र दाउरा उपलब्ध गराइनेछ ।

  • फागुन ४ र ५ गते: चौथो दिन साधुसन्तको सेवालाई निरन्तरता दिइनेछ भने पाँचौँ दिन बिहान भोजन गराई तोकिएको दरअनुसार दक्षिणासहित उनीहरूको बिदाइ गरिनेछ ।

बजेट र भौतिक व्यवस्थापन
संस्थानले यस वर्ष पर्व सञ्चालनका लागि कुल ४० लाख रुपियाँ विनियोजन गरेको छ । जसमध्ये पर्व व्यवस्थापनमा ३२ लाख र दाउरा खरिदका लागि ८ लाख रुपियाँ छुट्याइएको छ । गत वर्षको अनुभवका आधारमा यस पटक करिब ५० हजार किलो दाउराको व्यवस्था गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

संस्थानका प्रशासक शैलेशराज कुँवरले विगतका अनुभवबाट पाठ सिक्दै यस वर्ष साधुसन्तको व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । गुठी संस्थानले परम्परादेखि नै महाशिवरात्रि लगायत इन्द्रजात्रा, बिस्केट जात्रा, र मच्छिन्द्रनाथको जात्रा जस्ता सांस्कृतिक पर्वहरूको सञ्चालन र संरक्षण गर्दै आएको छ ।