नवलपुरको गैँडाकोटमा राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता हुने : आठ टोली बिच प्रतिस्पर्धा
काठमाडौँ, माघ २८ । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को गैँडाकोटमा आगामी फागुन १ गतेदेखि राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा हुने उक्त प्रतियोगिता फागुन ५ गतेसम्म सञ्चालन हुनेछ ।
गैँडाकोट-९ स्थित नवजागरण खेलमैदानमा हुने यस प्रतियोगिताको तयारीबारे जानकारी दिन मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक रामचन्द्र सापकोटाले प्रतियोगितामा कुल आठ टोलीको सहभागिता रहने बताउनुभयो । प्रतियोगितामा नेपालका सातवटै प्रदेशका सात प्रादेशिक टोली र आयोजकको तर्फबाट ‘मेयर्स ११’ गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद ३ लाख रुपियाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले २ लाख रुपियाँ प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार ‘म्यान अफ द सिरिज’ घोषित हुने खेलाडीले २५ हजार रुपियाँ प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट ब्याट्स म्यान, बलर, फिल्डर र विकेट किपरलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा क्रिकेट खेलको प्रवर्द्धन र खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितालाई नवलपुर क्षेत्रकै एक महत्वपूर्ण खेलकुद कार्यक्रमको रूपमा हेरिएको छ ।